सानिमा बैंकको नाफामा ३८ प्रतिशतको छलाङ, लाभांश क्षमता २०.८५ रुपैयाँ

२०८३ साउन ११ गते

सानिमा बैंकको नाफामा ३८ प्रतिशतको छलाङ, लाभांश क्षमता २०.८५ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको लाभांश घोषणा गर्ने समय नजिकिँदै गर्दा सानिमा बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले लगानीकर्तालाई उत्साहित बनाएको छ। 

 

Advertisement:

Ad
Ad

नाफादेखि लाभांश क्षमता, खराब कर्जा व्यवस्थापनदेखि व्यवसाय विस्तारसम्म अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ। यही कारण सानिमा गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक मात्र बनेन, प्रारम्भिक नतिजाका आधारमा बलियो प्रदर्शन गर्ने बैंकको रूपमा पनि उभिएको छ।

 

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा खुद नाफा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो। तर यो वृद्धि केवल कर्जा विस्तारको परिणाम मात्र होइन, बैंकले लागत नियन्त्रण, जोखिम व्यवस्थापन र आम्दानीका स्रोत विविधीकरणमा गरेको सुधारको संयुक्त प्रभाव हो।

नाफा किन बढ्यो ?

सानिमाको नाफा वृद्धिको पहिलो आधार खुद ब्याज आम्दानी हो। बैंकले समीक्षा अवधिमा १६ अर्ब ६० करोड रुपैयाँ ब्याज आम्दानी गर्दा ९ अर्ब ६१ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। फलस्वरूप खुद ब्याज आम्दानी १० प्रतिशतभन्दा बढीले बढेर ६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

 

यद्यपि, पछिल्लो समय बैंकिङ प्रणालीमा ब्याजदर घट्दा अधिकांश बैंकहरूको स्प्रेडमा दबाब देखिएको छ। सानिमाको स्प्रेड पनि केही घटेको छ। तर कोषको लागत ४.७० प्रतिशतबाट ३.५१ प्रतिशतमा झर्नु र आधार दर  ६.१२ प्रतिशतबाट ४.९१ प्रतिशतमा आउनुले ब्याज खर्च घटाउन मद्दत गरेको छ। यसले नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ।

 

नाफा बढ्नुको दोस्रो र अझ महत्वपूर्ण कारण प्रोभिजन खर्चमा आएको उल्लेखनीय कमी हो। गत आर्थिक वर्षमा सम्भावित खराब कर्जाका लागि बैंकले १ अर्ब ७ करोड ७७ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ जबकि अघिल्लो वर्ष यही शीर्षकमा १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ छुट्याएको थियो। अर्थात् प्रोभिजन खर्च करिब ४३ प्रतिशतले घटेको छ। खराब कर्जाको जोखिम कम हुँदा नाफा स्वाभाविक रूपमा माथि गएको देखिन्छ।

 

त्यससँगै सेवा शुल्क तथा कमिसन आम्दानी ११.११ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ४६.७३ प्रतिशतले बढ्नुले पनि बैंकको गैरब्याज आम्दानी बलियो बनाएको छ। यसले बैंकको आम्दानी कर्जामा मात्र निर्भर नरहेको संकेत गर्छ।

 

व्यवसाय विस्तारको गति पनि बलियो

सानिमाले व्यवसाय विस्तारमा पनि दोहोरो अंकको वृद्धि कायम राखेको छ। समीक्षा अवधिमा कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २४९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.१९ प्रतिशतले बढेर २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। बैंकको सीडी रेसियो ८०.७७ प्रतिशत रहेको छ। नियामकीय सीमाभित्र रहेको यो अनुपातले बैंकसँग अझै पनि कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

खराब कर्जामा सुधार

नाफा बढ्नुको अर्को सकारात्मक संकेत भनेको सम्पत्ति गुणस्तरमा आएको सुधार हो। बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा केवल १.०२ प्रतिशत रहेको छ। यसले बैंकको कर्जा पोर्टफोलियो तुलनात्मक रूपमा स्वस्थ बन्दै गएको संकेत गर्छ। साथै, पुँजी कोष अनुपात १३.१० प्रतिशत र प्राथमिक पुँजी अनुपात १०.१७ प्रतिशत रहेकाले बैंक नियामकीय रूपमा पनि सहज अवस्थामा रहेको देखिन्छ।

 

बैंककको लागत घट्दै र खराब कर्जा नियन्त्रणमा आउँदै गएको देखिन्छ। यस्तो अवस्था कायम रह्यो भने आगामी वर्षहरूमा पनि नाफा वृद्धिको आधार बन्न सक्छ।  प्रतिसेयर आम्दानी  १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ। ३५० रुपैयाँको बजार मूल्यका आधारमा बैंकको  १३.५९ गुणा रहेको छ, जुन नेपाली बैंकिङ क्षेत्रको औसतसँग तुलना गर्दा अत्यधिक महँगो मूल्यांकन मानिँदैन।

 

बैंकको वितरणयोग्य नाफा २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। वित्तीय विवरणले प्रतिसेयर लाभांश क्षमता २०.८५ रुपैयाँ रहेको देखाएको छ। यसको अर्थ, बैंकसँग सिद्धान्ततः प्रतिशेयर २०.८५ रुपैयाँ बराबर लाभांश वितरण गर्ने क्षमता रहेको छ। तर यो अन्तिम लाभांश भने होइन। सञ्चालक समितिले पुँजीको आवश्यकता, भावी कर्जा विस्तार, नियामकीय पुँजी पर्याप्तता र व्यवसाय विस्तारको योजनालाई ध्यानमा राखेर बोनस सेयर र नगद लाभांशको अनुपात निर्धारण गर्नेछ।

 

यद्यपि हालको वितरणयोग्य नाफा हेर्दा दोहोरो अंकको लाभांश घोषणा गर्ने सम्भावना बलियो देखिन्छ। अन्तिम निर्णय भने नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट हुनेछ।

 

सानिमा बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरणले बैंकले केवल नाफा मात्र बढाएको होइन, जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, लागत नियन्त्रण र सम्पत्ति गुणस्तरमा पनि सुधार गरेको संकेत दिएको छ। यही कारण बैंकको लाभांश क्षमता उल्लेखनीय रूपमा बढेको छ।

यदि आगामी अवधिमा खराब कर्जा थप नियन्त्रणमा रह्यो, कोषको लागत न्यून रह्यो र कर्जा विस्तारले गति कायम राख्यो भने सानिमाले आगामी वर्षहरूमा पनि सुदृढ वित्तीय प्रदर्शन दोहोर्याउने आधार देखिन्छ।