काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरू

२०८२ असार १८ गते

काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरू

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरू गरेको छ। प्रत्येक आइतबार र बुधबार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बबरमहल ११ काठमाडौंमा यो सेवा सञ्चालन गरिएको छ। तनाव, चिन्ता (एङ्जाइटी), उदासीनता (डिप्रेसन),सिजोफ्रेनिया, निन्द्राको समस्या, लागू पदार्थको कुलत जस्ता विभिन्न मानसिक समस्या भएका मानिसहरुले सो सेवाबाट लाभ लिन सक्नेछन्। उपलब्ध सेवा निःशुल्क रहेको छ।

पछिल्लो समय मानसिक स्वास्थ्य सेवालाई बेवास्ता गरिएको भन्दै सम्मानित सर्वोच्च अदालतबाट सरकारका तीन वटै तहले थप प्रभावकारी मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने आदेश दिएपछि महानगरले यो सेवा प्रारम्भ गरेको देखिएको छ। यद्यपि यस कार्यक्रम र सर्वोच्चको आदेशसँगै आउनु संयोग मात्र रहेको महानगरपालिका स्वास्थ्य विभाग सम्बद्ध स्रोतले बताएको छ। महानगरको यस कार्यक्रमलाई नेपाल मनोचिकित्सा संघ र चिकित्सा मनोविद् संघको समेत साथ रहेको छ।

Advertisement:

Ad
Ad

जनतालाई मानसिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउन यो सेवा सुरू गरिएको हो। महानगरपालिकाको क्लिनिकमा मानसिक स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्दै आएका मनोचिकित्सक डा। दिनेश रिजालका अनुसार, यस्ता कार्यक्रम समुदायिक जनस्वास्थ्यको दृष्टिकोणले अत्यन्तै आवश्यक छन्। यस्ता कार्यक्रमले समुदायमा रहेका विभिन्न वर्गसम्म मानसिक स्वास्थ्य सेवाको पहुँचमा सहयोग पुर्याउने, जसले मानसिक स्वास्थ्यप्रति रहेको गलत दृष्टिकोण घटाउँदै जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्दछ।