ओलीमाथि ज्ञानेन्द्रको कटाक्ष : 'हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज तिमीहरूको इतिहास मेटाउने निस्किए'

२०८३ साउन ११ गते

ओलीमाथि ज्ञानेन्द्रको कटाक्ष : 'हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज तिमीहरूको इतिहास मेटाउने निस्किए'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयलाई लिएर टिप्पणी गरेका छन्।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले इतिहास मेटाउने प्रवृत्ति अन्ततः त्यसलाई सुरु गर्नेहरूमाथि नै फर्किने दाबी गरेका हुन्। उनले विगतमा राजसंस्थासँग जोडिएका संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गरिएको प्रसंग उल्लेख गर्दै अहिले पूर्वप्रधानमन्त्री ओलीको नाम हटाइएको विषयमा धेरै दुःख मान्न आवश्यक नरहेको बताएका छन्।

 

उनले भनेका छन्, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर, यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन। हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए।’

 

शाहीका अनुसार राजाका पालामा निर्माण भएका भौतिक संरचना र तिनसँग जोडिएका ऐतिहासिक पहिचानलाई योजनाबद्ध रूपमा मेटाउने काम विगतमा गरिएको थियो। अहिले देखिएको घटनाले त्यही प्रवृत्तिको पुनरावृत्ति भएको उनको भनाइ छ।

 

उनले उदाहरणका रूपमा एउटा पुरानो कथा पनि उल्लेख गरेका छन्। कथाअनुसार एक व्यक्तिले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न जाँदा उनको सानो छोराले ‘डोको नफाल्नुस्, पछि तपाईं बूढो हुँदा पनि यही काम लाग्छ’ भनेको प्रसंग स्मरण गर्दै शाहीले इतिहास मेटाउने प्रवृत्तिले अन्ततः आफ्नै इतिहाससमेत मेटिने अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।

 

‘आज अरूको इतिहास मेटाउने पालो तपाईंको हुन सक्छ, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ,’ भन्दै उनले इतिहासप्रति सम्मान र संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।