२०८३ जेठ २८ गते
काठमाडौं । अध्ययन तथा अन्य बिदा लिएर विदेश गएपछि कार्यालयमा नफर्किएका ६ हजारभन्दा बढी निजामती कर्मचारीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन कर्मचारीलाई विवरण अद्यावधिक गर्न दिएको समयसीमा सकिँदा पनि १६६ जना मात्रै सम्पर्कमा आएपछि कारबाहीको तयारी गरिएको हो।राष्ट्रिय किताबखाना (निजामती) का अनुसार हालसम्म विभिन्न बिदा लिएका ७ हजार ५१ कर्मचारीमध्ये ९ सय ९३ जनाको मात्रै बिदा अवधि बाँकी छ भने बाँकी ६ हजार ५८ जना बिदा सकिएपछि पनि कार्यालयमा उपस्थित भएका छैनन्।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले बिदा अवधि सकिएर पनि सम्पर्कमा नआएका कर्मचारीहरूको विवरण सम्बन्धित मन्त्रालयमा पठाई विभागीय कारबाही अघि बढाइने बताए।कानुनी व्यवस्थाअनुसार अध्ययन, तालिम वा भ्रमणका लागि विदेश गएका कर्मचारीले कार्यक्रम सम्पन्न भएको ३० दिनभित्र अनिवार्य रूपमा कार्यालयमा हाजिर हुनुपर्छ।
तोकिएको अवधिभित्र उचित कारणबिना सेवामा नफर्किए उनीहरूलाई सेवाबाट हटाउने व्यवस्था छ। साथै, सरकारी तलब, भत्ता वा छात्रवृत्तिको सुविधा लिएर अध्ययनमा गएका कर्मचारीले सम्झौताअनुसार सेवा नगरेमा सरकारले व्यहोरेको सम्पूर्ण खर्च र प्राप्त सुविधासमेत सरकारी बाँकी सरह असुलउपर गर्न सक्ने कानुनी प्रावधान रहेको छ।सोही प्रक्रियामा जाने सरकारको तयारी छ ।
प्रतिक्रिया