२०८३ वैशाख १५ गते
काठमाडौँ । भारतको ओडिशा राज्यका एक व्यक्तिले आफ्नी मृत दिदीको कंकाल बोकेर बैंकमा पुगेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले आफ्नी दिदीको नाममा बैंकमा जम्मा भएको पैसा निकाल्ने प्रयासको क्रममा कंकाल नै बोकेर पुगेका हुन् ।यो घटना ओडिशाको केओनझर जिल्लाको पतना ब्लकमा रहेको ओडिशा ग्रामीण बैंकको मलिपोसी शाखामा भएको हो ।
५० वर्षीय जीतु मुन्डा भनेर चिनिएका ती व्यक्तिले प्रहरीलाई बताएअनुसार बैंकका व्यवस्थापकहरूले खातावालालाई आफूसँगै ल्याउन भनेपछि उनले यस्तो कदम चालेका हुन् ।
ती आदिवासी व्यक्तिले आफ्नी जेठी दिदी कलरा मुन्डाको बैंक खाताबाट २० हजार रुपैयाँ निकाल्न खोजिरहेका थिए ।
कलरा मुन्डाको जनवरी २६ मा मृत्यु भएको थियो ।‘म धेरैपटक बैंक धाएँ, त्यहाँका मानिसहरूले पैसा निकाल्न खातावालालाई ल्याउनुस् भने । मैले उनको मृत्यु भइसकेको बताए पनि उनीहरूले सुनेनन् र उनलाई बैंकमै ल्याउन जोड दिए । त्यसैले मैले चिहान खनी उनको कंकाल निकालेर मृत्यु भएको प्रमाणका रूपमा ल्याएँ,’ मुन्डाले सञ्चारकर्मीलाई बताए ।
पतना प्रहरी चौकीका इन्चार्ज निरीक्षक किरण प्रसाद साहुले भने बैंकले जीतुलाई पैसा निकाल्ने सही प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको बताए ।
‘जीतु एक अशिक्षित आदिवासी व्यक्ति हुन् । उनलाई ‘कानुनी उत्तराधिकारी’ वा ‘नोमिनी’ के हो भन्ने थाहा छैन । बैंकका कर्मचारीहरूले मृत व्यक्तिको खाताबाट पैसा कसरी निकाल्ने भन्ने प्रक्रिया उनलाई बुझाउन असफल भएका छन्,’ साहुले समाचार एजेन्सी पीटीआईसँग भने ।
यता स्थानीय ब्लक विकास अधिकृत ९बीडीओ० मानस दण्डपाटले भने आफूले पहिलोपटक यो घटनाबारे सुनेको बताए ।‘आज मात्रै मैले यो विषयमा थाहा पाएँ । समस्या समाधानका लागि के गर्न सकिन्छ हेर्नेछौं,’ बीडीओले पीटीआईसँग भने ।
घटनापछि प्रहरी अधिकारीहरू हस्तक्षेपमा उत्रिएका छन् र उक्त आदिवासी व्यक्तिलाई उनकी मृत दिदीको खाताबाट पैसा निकाल्न सहयोग गर्ने आश्वासन दिएका छन् ।
कंकाल अवशेषहरू प्रहरीको निगरानीमा पुनः चिहानमै गाडिएको छ ।
प्रतिक्रिया