जेनजी आन्दोलनमा जलेका सरकारी सवारी कवाडमा किलो भाउमा बिक्री गरिँदै

२०८२ कात्तिक ०६ गते

जेनजी आन्दोलनमा जलेका सरकारी सवारी कवाडमा किलो भाउमा बिक्री गरिँदै

काठमाडौँ । भदौको जेनजी आन्दोलनका क्रममा काठमाण्डूमा भएको आगजनीका कारण कामै नलाग्ने गरी ध्वस्त भएका अधिकांश सवारी साधनहरू नयाँ बानेश्वरस्थित संसद् भवनमा जम्मा गरिएको भन्दै तिनलाई पत्रुको मूल्यमा लिलाम गर्न केही नीतिगत निर्णय लिइनुपर्ने अधिकारीहरूले बताएका छन्।

बानेश्वरमा जम्मा गरिएका जलेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका फलाम कवाड व्यवसायीलाई किलोका मूल्यमा बिक्री गर्ने अवस्थामा रहेको सरकारी इन्जिनिअरहरूले बताएका छन्।

Advertisement:

Ad
Ad

अझै पनि आगजनीका कारण पूर्णरूपमा क्षति पुगेका करिब १०० वटा सवारी साधनहरूलाई विभिन्न ठाउँबाट उठाएर संसद् भवन हाताभित्र लैजान बाँकी रहेको सडक विभागले जनाएको छ । शहरी विकास मन्त्रालयका एक जना अधिकारीले सिंहदरबारभित्र जलाइएका सम्पूर्ण सवारी साधनहरूलाई आफूहरूले त्यहाँबाट हटाएर संसद् भवन पुर्‍याएको बताएका छन्।अहिले कवाडी फलामको मूल्य प्रतिकिलो ४५ रुपियाँ रहेको र यस्ता फेरि प्रशोधन गरेर प्रयोगमा ल्याउन सकिने सामान खरिद गर्न आफूहरूको रुचि हुने एक जना कवाड व्यवसायीले बताए।

अर्थ मन्त्रालयको प्रस्तावमा असोज ५ गते आगलागी तथा तोडफोडबाट काम नलाग्ने सवारी तथा अन्य साधन र भौतिक सम्पत्ति पत्रु मूल्यमा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको अधिकारीहरू बताउँछन्।

मन्त्रिपरिषद्को उक्त निर्णयमा गम्भीर क्षति भई पुन प्रयोग हुन नसक्ने अवस्थामा पुगेका सवारी तथा अन्य साधनलाई पत्रु सम्पत्ति तथा जिन्सी मालसामानको रूपमा न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्नेु भनिएको थियो।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले भने, 'मन्त्रिपरिषद्बाट जुन निर्णय भएको छ त्यसको कार्यान्वयनको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको छ। सबैलाई एक ठाउँमा राखेर उसैले लिलाम गर्छ।'