२०८३ वैशाख २० गते
काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिएको छ ।
नाफाको सूचक ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ । सन् २०२१ र २०२२ मा ४.५ प्रतिशत रहेको यो सूचक सन् २०२५ मा ६.५ प्रतिशत पुगेको छ भने चालु वर्षको पहिलो अर्धवार्षिक अवधिमा ७.५ प्रतिशत पुगेको छ । कम्पनीको बाह्य दायित्व र नेटवर्थको अनुपात भने घट्दो क्रममा देखिएको छ, जसले वित्तीय जोखिम कम हुँदै गएको संकेत गर्छ । सन् २०२३ मा ३.५ गुणासम्म पुगेको यो अनुपात सन् २०२५ मा ३.० र २०२६ को पहिलो छ महिनामा १.७ मा झरेको छ ।
त्यसैगरी, कार्यशील पूँजी सूचकमा पनि सुधार देखिएको छ । सन् २०२१ मा ३२ प्रतिशत रहेको नेट वर्किङ क्यापिटल सन् २०२६ को पहिलो छ महिनामा २ प्रतिशतमा पुगेको छ । करेन्ट रेसियो पनि ०.९ बाट बढेर १.२ पुगेको छ । बैंक, अस्पताल, होटल र शैक्षिक संस्थाजस्ता ग्राहकसँग काम गर्दै आएको कम्पनीले आवासीय तथा व्यावसायिक भवन निर्माण, डिजाइन–बिल्ड र मर्मतसम्भार सेवामा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ ।यद्यपि, कम्पनीको राजस्व सुनिश्चितता कमजोर बन्दै गएको छ । सन् २०२५ को मध्यसम्म बाँकी काम (अर्डर बुक) वार्षिक आम्दानीको करिब ०.९ गुणामा सीमित भएको छ, जुन अघिल्लो वर्ष १.१ गुणा थियो । छोटो परियोजना अवधि, सीमित भौगोलिक विस्तार र प्रतिस्पर्धी बजारका कारण नयाँ काम प्राप्तिमा दबाब पर्ने देखिएको छ ।
प्रतिबेदन अनुसार तरलता पक्षमा पनि केही चुनौती देखिएका छन् । नेट वर्किङ क्यापिटल –४ प्रतिशतमा सीमित छ भने बाह्य दायित्व र नेटवर्थ अनुपात करिब ३ गुणा रहेको छ । उच्च लाभांश वितरण (करिब ८० प्रतिशत) का कारण नगद सञ्चिति घटेको छ, जसले भविष्यमा तरलता दबाब बढाउन सक्छ । यसैबीच, कम्पनीको लेखा परीक्षण प्रतिवेदनले कर्मचारी सुविधा सम्बन्धी नियम पालना नगरेको र आम्दानी मान्यता सम्बन्धी नेपाल लेखा मापदण्ड उल्लङ्घन भएको औंल्याएको छ । यसले सम्भावित दायित्व सिर्जना गर्न सक्ने जोखिम देखाएको छ ।
प्रतिक्रिया