२०८३ वैशाख १९ गते
काठमाडौँ । दुईवटा खुसी मनाउन निस्किएको जीसी परिवारको ९ सदस्यको एकै चिहान भएपछि यतिखेर घोराही–१५ रत्नपुर शोकमा डुबेको छ ।
एउटा परिवारमा जब एकसाथ दुईवटा खुसी भित्रिन्छन्, तब उत्सवको माहोल हुनु स्वाभाविक हो। घोराही–१५ रत्नपुरका यमबहादुर जीसीको परिवारमा पनि यस्तै थियो। एकातिर २८ वर्षीया छोरी युभा लामो समयपछि वैशाख २९ गते श्रीमान् भेट्न अमेरिका उड्ने तयारीमा थिइन् भने अर्कोतिर भर्खरै ठडिएको नयाँ घरमा सर्ने चटारो थियो।
यही खुसीयाली मनाउन र बिरामी आफन्तको स्वास्थ्यलाभको भाकल बुझाउन जिसी परिवारका ९ सदस्य रोल्पाको जलजलातर्फ लागेका थिए। तर, चण्डी पूर्णिमाको अघिल्लो रात उनीहरूको जीवनको अन्तिम रात बन्यो।रोल्पाको थबाङ गाउँपालिका १ र ४ को सिमाना रुकुमकोटबाट जलजला जाँदै गर्दा जीप दुर्घटनामा पर्यो । जीपमा सवार २१ मध्ये २० जनाको घटनास्थलमै मृत्यु भयो ।जसमा जीसी परिवारका मात्रै ९ जना (दम्पती, छोरी, बुहारी र नातिनातिनी) परे।
अधुरो सपना
अमेरिका उड्ने तयारीमा रहेकी युभाको पासपोर्ट र नयाँ घरको साँचो अब केवल यादमा सीमित भएका छन्। जुन घरमा सर्ने तयारी थियो, त्यही घर अहिले रित्तै छ र सिङ्गो रत्नपुर गाउँ शोकमा डुबेको छ। खुसीको गन्तव्य भेट्न हिँडेको एउटा परिवार बाटोमै अलप भयो ।
प्रतिक्रिया