प्रधानमन्त्रीलाई सिके राउतको सुझाव,'विवाद सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्छ'

२०८३ साउन १५ गते

प्रधानमन्त्रीलाई सिके राउतको सुझाव,'विवाद सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्छ'

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका छन् । छलफल सुनसरी घटनापछि उत्पन्न परिस्थतीमा केन्द्रित रहेको थियो ।


छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउन, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी रहेका थिए।

Advertisement:

Ad
Ad

प्रधानमन्त्रीसँग सिंहदरबारमा छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्रीलाई केही सुझाव दिए । अन्तर धार्मिक संरचनाको बैठक हरेक महिना बस्ने र देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने उनले सुझाव दिएको पत्रकारहरुसँग बताएका छन् ।

‘सुनसरीलगायत जिल्लामा देखिएका घटनालाई सरकारले छिटपुट घटनाका रूपमा लिन हुँदैन भनेर सुझाव दिएका छौं। यसपछि पनि निरन्तर यस्ता घटना हुन सक्छन् है भनेर अहिले नै समाधानका लागि तयार रहनुपर्छ,’ उनले भने।


उनले संघीय सरकारले पनि एउटा संरचना बनाउनुपर्ने बताए। केही घटना भएमा वार्ता गर्ने र माग पूरा गर्ने काम उक्त संरचनाले गर्न सक्ने पनि उनको भनाइ छ। ‘घटना भएको ठाउँमा जति दिन शव राख्यो उति त्यो घटना विकराल बन्दै जान्छ र अन्यत्र सर्छ,’ उनले भने।

उनले प्रहरीहरूलाई पनि तालिम दिनुपर्ने बताए। प्रहरी आक्रोशित हुँदा पनि घटनाले गम्भीर रूप लिन सक्ने उनको भनाइ छ। ‘धार्मिक संवेदनशीलताको विषयमा प्रहरीलाई पनि तालिम दिनुपर्छ, सबै जिल्लाका एसपीलाई बोलाएर यसबारे कुरा गर्नुहोस् भनेर सुझाव पनि दिएको छु,’ उनले भने।साथै उनले प्रदेशहरूलाई अधिकार दिन पनि आग्रह गरेका थिए। 

 

‘प्रदेशलाई अधिकार नदिएर पनि यस्ता घटना धेरै दिनसम्म रहने गर्‍यो, सिडिओले मुख्यमन्त्री टेर्दैन। प्रहरीलाई प्रदेश मातहत राख्यो र नेपाली सेनालाई समावेशी बनायो भने केही समाधान होला, यति धेरै सेना परिचालन भएको छ स्थानीय भाषा बुझ्ने सेना छैनन्, समावेशी भए त हुन्थे, स्थानीयसँग कुराकानी गर्न सहज हुन्थ्यो,’ उनले भने।

 

जबाफमा प्रधानमन्त्री बालेन शाहले आफू संघीयताविरोधी नभएको बताएका थिए। साथै उनले सुनसरीलगायत जिल्लामा भएको घटनाबारे निष्पक्ष छानबिन गरिने बताएका थिए।साथै प्रधानमन्त्री शाहले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए।

 

प्रधानमन्त्रीले आजै मधेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल गरेका छन्।