साउन १५ मा एक अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान, खिर दिवसले बजार तताउने

२०८३ साउन १३ गते

साउन १५ मा एक अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान, खिर दिवसले बजार तताउने

काठमाडौं । साउन १५ मा मनाइने राष्ट्रिय खिर दिवसका अवसरमा  देशभर एक अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको कारोबार हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनका अनुसार उक्त दिन करिब एक करोड लिटर दूध खपत हुने अपेक्षा गरिएको छ जसले दुग्ध किसान, डेरी उद्योग तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

 

Advertisement:

Ad
Ad

यसैबीच राष्ट्रिय खिर दिवसलाई लक्षित गर्दै नेपाल डेरी एसोसिएसनले बुधबार काठमाडौंमा खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको विशेषता भने प्रमुख अतिथिका रूपमा कुनै राजनीतिक व्यक्ति वा उच्च पदस्थ अधिकारी नभई दुग्ध किसान रामप्रसाद घिमिरे रहेका थिए । एसोसिएसनले किसानको सम्मानलाई प्राथमिकतामा राख्दै यो कदम चालेको जनाएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा वन मन्त्रालयका सहसचिव जगन्नाथ तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, नार्क तथा डेरी क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

 

कार्यक्रममा मौलिक भान्छाघरको सहकार्यमा नौ प्रकारका खिर स्वाद परीक्षण गराइएको थियो। साउन १५ का दिन पनि नौ प्रकारकै खिर उपलब्ध गराइने तथा आवश्यक परे होम डेलिभरी सेवा समेत सञ्चालन गरिने मौलिक भान्छाघरका प्रबन्ध निर्देशक सुमन दाहालले जानकारी दिए।

 

प्रमुख अतिथि किसान रामप्रसाद घिमिरेले आफूलाई गोठबाटै बोलाएर प्रमुख अतिथि बनाइनु सम्पूर्ण दुग्ध किसानको सम्मान भएको बताए। उनले किसानप्रति सम्मान देखाएकोमा नेपाल डेरी एसोसिएसनप्रति आभार व्यक्त गरे।

 

कार्यक्रममा बोल्दै सहसचिव जगन्नाथ तिवारीले कृषि क्षेत्रको विकासका लागि मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताए। महासंघका उपाध्यक्ष श्रेष्ठले डेरी उद्योगका गतिविधिमा महासंघको निरन्तर साथ रहने बताए भने शोभा गुरुङले गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरिन्। गोविन्द घिमिरेले छुर्पी, घिउलगायत नेपाली दुग्धजन्य वस्तुको निर्यात प्रवर्द्धनमा महासंघले भूमिका खेल्ने प्रतिबद्धता जनाए।

 

कार्यक्रमको उद्घाटन काठमाडौं इङ्लिस स्कुलका बालबालिकालाई खिर खुवाएर गरिएको थियो। सो अवसरमा साना तथा घरेलु उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई पनि सम्मान गरिएको थियो।

 

नेपाल डेरी एसोसिएसनका अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउने गरिएको छ। यस वर्ष खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नारासहित देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्।

 

एसोसिएसनले खिर दिवसलाई केवल सांस्कृतिक पर्व नभई दूध उत्पादक किसानको आय वृद्धि, स्वदेशी दुग्धजन्य पदार्थको खपत विस्तार, डेरी उद्योगको सुदृढीकरण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेको छ।