विदेशी पर्यटकमाथि खुकुरी देखाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

२०८२ कात्तिक ०३ गते

विदेशी पर्यटकमाथि खुकुरी देखाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

पोखरा । पोखरामा एक विदेशी नागरिकमाथि खुकुरी देखाई अभद्र व्यवहार गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान करिब ९ः१० बजे पोखरा महानगरपालिका–२२, अनदु जङ्गल नजिक सार्वजनिक स्थानमा जर्मन नागरिक ६७ वर्षीय एएनएस पिटर मार्टिन एक्लै हिँडिरहेको अवस्थामा दुई जना युवाले खुकुरी देखाई हातपात गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले  जनाएको छ । 

 

Advertisement:

Ad
Ad

उक्त घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले युवकहरूलाई धारिलो हतियार ९खुकुरी० सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए । 

 

कास्की माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नवीन बिक र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामीलाई उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बस्नेतले उल्लेख गरे ।