२०८३ कात्तिक १८ गते
रुपन्देही । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मङ्गलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो ।
प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा लामो समयदेखि बेवारिसे अवस्थामा ‘पार्किङ’ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास गर्दा उक्त कार फेला पारेको हो ।
बरामद कारको अनुमानित मूल्य रु ९० लाख रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया