राष्ट्रपति पौडेलद्वारा थप ३ अध्यादेश जारी

२०८३ वैशाख १९ गते

राष्ट्रपति पौडेलद्वारा थप ३ अध्यादेश जारी

काठमाडौँ। सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले हालसम्म ६ वटा अध्यादेश जारी गरेका छन् ।शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्दै थप तीन अध्यादेश सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

 

Advertisement:

Ad
Ad

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसका आधारमा पछिल्ला तीन दिनभित्रै राष्ट्रपति पौडेलबाट यी ६ अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी दुई अध्यादेश भने अझै अध्ययनकै क्रममा छन् । विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति राष्ट्रपति पौडेलको विशेष चासो देखिएको छ । विगतका सरकारहरूले पनि पटक–पटक सिफारिस गर्दै आएको उक्त अध्यादेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल रहँदा उनले कानुनविद्हरूसँग परामर्शसमेत गरेका थिए ।

 

कानुनविद्हरूले प्रधानमन्त्री बालेन शाहसँग समेत छलफल गरेर अघि बढ्न सुझाव दिए पनि यसबारे अन्तिम निर्णय भने अझै हुन सकेको छैन । राष्ट्रपति कार्यालय स्रोतका अनुसार हालसम्म भएका निर्णयहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश गरिएको छैन । ‘शुक्रबार र शनिबारका निर्णय सूचीमा उक्त अध्यादेश परेको छैन,’ स्रोतले जनाएको छ ।

 

त्यसैगरी केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपति स्तरमै छलफल जारी छ । स्रोतका अनुसार उक्त अध्यादेशमार्फत २५ भन्दा बढी कानुन संशोधनको प्रस्ताव गरिएको छ । पछिल्ला तीन दिनमा राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूमा १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ रहेका छन् ।

 

१८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो । त्यस्तै १९ वैशाख (शनिबार) एकैदिन तीन अध्यादेश जारी भएका छन् । तीमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ रहेका छन् ।