काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ ।
यद्यपी, बहुसंख्यक क्याम्पसमा निर्वाचन अन्तिम चरणमा पुगेको छ । क्याम्पसहरुमा मतदानका लागि भौतिक संरचनाहरुको निर्माण भइरहेको छ ।
तथापी,सत्तारूढ कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, प्रतिपक्षी माओवादी निकट अखिल क्रान्तिकारीलगायत संगठनको तालाबन्दीले निर्वाचन प्रभावित भएको छ । निर्वाचन नजिकिएसँगै विवाद उत्कर्षमा पुगेपछि काठमाडौं उपत्यका भित्रका ठूला क्याम्पसमा तालाबन्दी समेत गरिएको छ ।
तर चुनावी मैदानमा रहेका विद्यार्थी संगठनका नेताहरुले लोकप्रिय एजेन्डाहरुसहित आफूहरुले चुनाव जित्ने दाबी गरिरहेका छन् । सत्तामा कांग्रेस एमालेबीच सहकार्य रहेकाले देशभरका एकाध बाहेक अधिकांश क्याम्पसमा सत्तापक्षका विद्यार्थी संगठनहरुबीच सहकार्य भएको छ भने विपक्षी दल निकट संगठनहरु एक भएर चुनावी मैदानमा छन् ।
एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले तोकिएको समयमा निवार्चन गराउन नसकेपनि केही दिन पर सारेर भएपनि सबै क्याम्पसमा शान्तीपूर्ण ढङगले निर्वाचन गराइने दाबी गरे ।
‘हामी सम्पुर्ण कलेजहरुमा तयारीका साथ लागिरहेका छौ । केही कलेजहरुमा तालाबन्दीको कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन् । ति कलेजहरुमा पनि निर्वाचन आयोगलाई दबाब दिएर हामीले तोकिएको समयमा निर्वाचन गराउन दिइरहेका छौं । गराउन नसकेपनि केही दिन पर सारेर निर्वाचन गराउन शान्तिपुर्ण ढङगले अभियानमा लागेका छौ,’ उनले भने ।
उनले स्ववियु भनेको दवावमुलक संस्था भएको भन्दै स्ववियु नहुँदा कलेजमा भ्रष्टाचार भइरहेको पनि बताए । अनेरास्ववियुको मुख्य एजेण्डा सर्टिफिकेसनको लागि पनि प्रदेश स्तरबाट वितरणको लागि पहल गर्ने र स्नातक तहमा पढ्ने विद्यार्थीहरु अनुसन्धान केन्द्रीत बनाउन पहल गर्ने रहेको पनि बताए ।
उनले भने, ‘हाम्रो संगठनको मुख्य एजेण्डा भनेको विश्वविद्यालयलाई डिजिटललाइजेसन गर्ने, समयमै नतिजा प्रकाशन नहुने समस्या रहेकाले त्यसको अन्त्य गराउने, नतिजा प्रकाशनपछि पनि सर्टिफिकेसनको लागि प्रदेश स्तरबाट वितरणको लागि पहल गर्ने र स्नातन तहमा पढ्ने विद्यार्थीहरु अनुसन्धानमुलक बनाउन पहल गर्नेलगायतका मुद्दाहरु अघि सारेका छौं,’ उनले अगाडि भने,‘स्ववियु भनेको दवावमुलक संस्था भएकाले आम विद्यार्थीको पक्षमा मात्र नभएर जनजिवीकाको सन्दर्भमा, राष्ट्रियताको पक्षमा आन्दोलन समेत गर्छ । स्ववियु नहुदा कलेजमा भ्रष्ट्राचार भइरहेको छ । शैक्षिक वातावरणको लागि नेपालीहरुको माग उठाउन पनि स्ववियु महत्वपुर्ण छ । हिजो स्ववियुबाट स्थापित भएका एजेण्डाहरु पास भइरहेको छन् । यी एजेण्डाहरुबाट डराउनेहरु स्ववियु खारेजीको कुरा गर्छन । विद्यार्थीहरुको महत्वपूर्ण समस्या उठाउने संस्था स्ववियु आवश्यकता छ । केही विद्यार्थी संगठनहरुले हिजो चुनाव जितेको आधारमा आज पनि मैंले जित्नुपर्छ भन्ने छ । त्यसका कारण केही क्याम्पसहरुमा अराजकता प्रदर्शन गर्ने चरित्र देखा परेको छ । हाम्रो संगठन गुण्डागर्दी गर्ने, तालाबन्दी गर्ने पक्षमा छैन् । क्याम्पसहरुमा स्वस्छ र निष्पक्ष ढङगले निर्वाचन गराउने पक्षमा छ ।’
यस्तै, नेकपा (एमाले)का अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले विद्यार्थीहरुको बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको भन्दै समाज परिवर्तनको लागि स्ववियु महत्वपुर्ण रहेको बताए ।
उनले अन्य संगठनहरुले आफुले जित्ने ठाउँमा स्ववियुको निर्वाचन गर्न खोज्ने आफूले हार्ने ठाउँमा निर्वाचन गर्न नखोज्ने र ताला बोकेर हिड्ने गरेको बताए ।
उनले भने,‘लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन् । हामी अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थीको निर्वाचन हुनुपर्छ भनेर लागेका छौ । बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको हो । समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको संस्थाको निर्वाचनमा आज भिन्न संगठनहरु आफुले जित्ने ठाउँमा निर्वाचन गर्न खोज्ने, हार्ने भइयो भने निर्वाचन गर्न नखोज्ने वा ताला बोकेर हिड्ने गरिरहेका छन् । आफ्नो प्यानल मिलाउन नसकेर त्रिचन्द्र क्याम्पस, पद्यमकन्या ,शंकरदेव, बुटवल बहुमुखी, पशुपतीलगायतका क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसैले के भन्न चाहन्छु भने आन्तरिक कुराले विद्यार्थीहरुले आफ्नो नेतृत्व छान्ने प्रकियालाई नरोक्नुहोला । जसरी पनि स्ववियुको निर्वाचन हुनुपर्छ । आज स्ववियुको महत्व झन बढेको छ । रचनात्मक तरिकाले अगाडि बढाउन पर्छ । अवको स्ववियुले नेपाललाई चाहिने जनशक्ति निर्माणका लागि काम गर्नुपर्छ ।’
स्ववियू आफ्नो अधिकारको लागि र खराबीको पक्षमा लड्ने संस्था भएपनि पछिल्लो समय राजनीतिमा जसरी दलाल, पुँजीवाद हावी भयो त्यसको प्रभाव प्रत्यक्ष रुपमा विद्यार्थी संगठन र विद्यार्थीहरुमा परेको नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल समाजवादीका अध्यक्ष नरेन्द्र विश्वकर्माको भनाइ छ ।
उनका अनुसार विद्यार्थी आन्दोलनले सहि दिशा लिन नसकेको, क्याम्पसहरुमा ताला लागेको, तोडफोड गरिएको छ, आफूले जितेको ठाँउमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनाउने जस्ता कामहरु स्ववियूबाट हुने गरेको बताए ।
उनले भने, ‘खराबीको विरुद्धमा खडा भएको संस्था हो स्ववियू वा आफ्नो अधिकारको पक्षमा लड्ने संस्था हो । तर पछिल्लो समय नेपालमा जसरी राजनीति दलालीकरण भएको छ, दलाल पुँजीवाद हावी भएको छ त्यसको प्रभाव प्रत्यक्ष रुपमा विद्यार्थी संगठन र विद्यार्थीहरुमा परेको छ । विद्यार्थी आन्दोलनले पनि सहि दिशा लिन सकेको छैन् । यतिबेला धेरै क्याम्पसहरुमा ताला लागेको छ, तोडफोड गरिएको छ, आफूले जितेको ठाँउमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनि रहेका छन् ।’
यसको साथै, कति ठाँउमा विद्यार्थीहरुलाई सानैदेखि गलत दिशामा लगाउने ठाँउ पनि स्ववियू बनेको भन्दै यसलाई सुधार गर्नुपर्ने र समग्र विद्यार्थी आन्दोलनलाई दलाल पुँजीवादी राजनीतिको प्रभावबाट बाहिर निकाल्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ ।
उनले भने, ‘स्ववियु कति ठाँउमा विद्यार्थीहरुलाई सानैदेखि गलत दिशामा लगाउने ठाउँ बनिरहेका छन् । स्ववियूले सही तरिकाले काम गरेको छ कि छैन् वा यसको क्षेत्राधिकार पुगेको छ कि छैन् भनेर हामीले नयाँ तरिकाले बहस गरिरहेका छौ ।’
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो, पुरानो र करिब ८० प्रतिशत उच्च शिक्षाका विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालय चरम संकटमा परेको हुनाले विद्यार्थीहरुको अधिकार र त्रिभुवन विश्वविद्यालयको सुधारको एजेण्डासहित अखिल समाजवादीका स्ववियू निर्वाचनमा पूर्ण रुपमा लागेको पनि उनको भनाई छ ।
चैत्र ५ गते हुने स्ववियूको चुनावमा अखिल समाजवादी देशैभर त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियुको चुनावमा होमिएको छ, करिब २ सय वटा क्याम्पसमा संगठन दर्ता भएको छ भने १ सयभन्दा बढि क्याम्पसहरुमा एकल, संयुक्त र प्यानलहरुसहित निर्वाचनमा आएको छ ।
यता, निर्वाचनको पूर्वसन्ध्यामा तालाबन्दी गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । संगठनभित्रको आन्तरिक विवाद, विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि, उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् । काठमाडौं उपत्यकाभित्रका पद्यमकन्या, त्रिचन्द्र, शंकरदेवलगायतका देशभरका डेढ दर्जनबढी मुख्य क्याम्पसहरुमा तालाबन्दी गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !