काठमाडौँ । महिलाहरुले पनि रोजगारी गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै जाँदा र समाजले पनि महिला रोजगारीलाई स्वभाविक रुपमा लिन थालेसँगै बैंक तथा वित्तिय संस्थामा महिला सहभागिता उल्लेख्य बढ्दै गएको छ । कतिपय विभागको कमाण्डरमा महिलाहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ । सशक्त र इमान्दार नेतृत्व कुनै पनि संस्थाको सबैभन्दा ठुलो सम्पत्ति हो । त्यहि सम्पत्तिको पर्याय बनिरहेका छन् महिला नेतृत्व ।
केही वर्ष यता नेपालको राजनीतिक, सामाजिक संस्थासँगै सरकारी र निजी क्षेत्रमा नेतृत्वदायी भूमिकाहरुमा थुप्रै महिलाहरू पुग्नुले पनि उक्त संस्थाको सम्पत्ति उनीहरुकै इमान्दारिता हो भन्ने पुष्टि गरेको छ । जुन जुन संस्था महिलाको नेतृत्व चल्न थाल्यो उक्त संस्था झनै सबल र सक्षम बन्दै गयो । महिला प्रतिको विश्वासको सिलसिला त्यसपछि बाक्लियो ।
कुनै बेला पुरुषले मात्र सशक्त ढंगले संस्था चलाउन सक्छन् भन्ने मान्यता अहिले विस्तारै तोडिँदै गएको छ । पछिल्लो समय शिक्षासँगै पेशागत जिम्मेवारी र चुनौति स्वीकार गर्न सक्ने क्षमताकै कारण सरकारी र निजी संघ संस्थाहरुमा विभागीय नेतृत्वमा महिलाहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ । यसको मतलब महिलाहरु बढी इमान्दार र कार्यकुशलताले निपुर्ण बन्दैछन् भन्ने नै हो ।
आज ८ मार्च विश्व भरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । यो दिनमा विशेषतः संसारभरका महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण तथा विश्लेषण गरिन्छ । आजको यो लेखमा हामीले नेपालका केही निजी क्षेत्रका संस्थागत विभागीय नेतृत्वमा रहेका महिलाहरुको अनुभव र उतार चढावलाई समेट्ने प्रयत्न गरेका छौँ ।
रेश्मा शाक्य
हेड अफ ट्रेजरी डिपार्टमेन्ट,माछापुच्छ्रे बैंक
करिब १५ वर्ष अघि रेश्मा शाक्यले बैकिङ करियर शुरु गर्दा उनलाई बैंकको कुनै विभागको नेतृत्व गर्छु भन्ने सायदै लागेको थियो । सन् २०१० मा बैंक अफ काठमाडौँबाट बैंकिङ करियर शुरु गरेकी शाक्यले माछापुच्छ्रे बैंकको ‘हेड अफ ट्रेजरी डिपार्टमेन्ट’को जिम्मेवारी सम्हालेको नै साँढे ६ वर्ष भइसक्यो । व्यवस्थापनमा मास्टर्स गरेकी शाक्य बैंकको विभागीय प्रमुखसम्म आइपुग्दा धेरै उतारचढावको सामना गर्नुपरेको बताउँछिन् । यद्यपि जिम्मेवारीप्रति कति पनि विचलित नभई झनै खरो उत्रिइन् । उनी भन्छिन्,’मेरो भूमिका भनेको बैंकको कोष व्यवस्थापन गर्ने,विदेशी बैंकमा कहाँ के भइरहेको छ, ऋण–बचतको अनुपात,सम्पत्ति दायित्वको व्यवस्थापन, मुद्राको उतारचढाव अवमूल्यन सबै विश्लेषण गर्नुपर्ने हुन्छ । यो महत्वपूर्ण निर्णय गर्ने स्थान पनि हो,बैंकले मलाई विश्वास गरेर नै यो जिम्मेवारी पाएकी हुँ।’
विभागीय नेतृत्वको जिम्मवारीले उनको संघर्षलाई बिर्साइदिएको छ । उनी भन्छिन्, ‘त्यत्तिकै कहाँ सफल भइन्छ र? पुरुषसँगै खरो उत्रन चुनौतिपुर्ण छ,घरको जतिनै दोहोरो जिम्मेवारी भएपनि बैंकको राणनीति तय गर्न बजारमा के भइरहेको छ सबै जान्नुपर्छ, त्यसको लागि काममा दत्तचित्त भएर लाग्नुपर्ने हुन्छ । नेपालको अर्थतन्त्र, सरकारी नीति सँगै अन्तर्राष्ट्रिय परिस्थिती पनि बुझ्नुपर्छ ।‘
आत्म विश्वासका साथ काम गरेर देखाउन सके सबैको सहयोग र साथ पाउने बताउँछिन् रेश्मा । उनी भन्छिन्, ‘संस्था भित्रै र बाहिरबाट हरेक पटक काम गर्न सक्ने हो कि होइन, समय दिन सक्ने हो कि होइन भनेर आशंका गरिन्छ । त्यही शंकालाई कामले प्रमाणित गरेकै कारण महिलाहरु बढी विश्वसनीय बनेका छन् ।’ बैंकिङ क्षेत्रमा सक्षम महिलालाई अघि बढ्न अवसर नै अवसर रहेकोे शाक्य बताउँछिन् ।
अनिता थापा आचार्य,
ब्राण्ड एण्ड प्रमोशन हेड,सिटी एक्सप्रेस मनी ट्रान्सफर
अनिता थापा आचार्य सिटी एक्सप्रेसको ब्राण्डिङ हेड भएर काम गरेको नै ७ वर्ष पुरा भएर आठ लाग्यो । उनले कम्पनीको ब्राण्डिङ हेड भएर कम्पनीको ब्रान्ड अर्थात छवि निर्माण गर्ने, यसको स्थायित्व कायम राख्ने र ग्राहकहरूसँग गहिरो सम्बन्ध बनाउन ठूलो समय खर्चिएकी छिन् । त्यसो त कम्पनीले त्यत्तिकै यो भूमिका उनलाई दिएको होइन, उनले लामो समय अन्य कर्पोरेट हाउसहरुमा देखाएको कामको लगाव र खारिएको अनुभवले सिटी एक्स्प्रेसलाई थप उचाईमा लैजान सक्छिन् भन्ने ठानेर नै उनलाई जिम्मेवारी सुम्पिएको हो ।
अनिता आफूमा दवाव थेग्न सक्ने क्षमता,रणनीतिक कुशलता र बोल्डनेस भएकै कारण जुन कुनै कम्पनीमा काम गर्दा पनि कहिल्यै अप्ठेरो भोग्न नपरेको बताउँछिन् । उनी भन्छिन्, ‘सिटी एक्सप्रेसको आज जुन व्यवसायिक माइलेज लिँदै ब्राण्ड स्थापित छ सात आठ वर्ष अघि पक्कै थिएन, संस्थाको ब्राण्ड भ्यालु बढाउन म लगायत टिमले विभिन्न देश गएर कम्पनी चिनाउन क्याम्पेन चलाउनेदेखि बजार वृद्धिको रणनीतिक योजना बुन्ने काम गरिरह्यौँ, आज सिटी एक्सप्रेस चिन्न कसैलाई गाह्रो छैन ।’
यतिखेर विश्व बजार डिजिटल मार्केटिङको ट्रेण्ड छ । नयाँ नयाँ कुराहरु बजारमा आइरहेका छन् । डिजिटल युगमा ब्रान्डिङको भूमिका अझै महत्वपूर्ण बनेको छ, नवीन सोच, सशक्त रणनीति, र प्रभावकारी संचार यो विभागमा अनिवार्य हुन्छ । एक छोराकी आमा अनिता काममा प्रभावकारिता ल्याउन हरेक कुरामा ‘अपडेटेड’ भइरहन मन पराउँछिन् । कार्यालयको काम कतिपय बेला निश्चित भइदिँदैन छोरालाई कसरी समय दिने भन्ने कुरामा पनि चनाखो हुन्छिन् यद्यपि घरको कामले कार्यालयलाई र कार्यालयको कामले घरलाई असर पर्न दिएकी छैनन् ।
आफू कार्यरत संस्थाको व्यवस्थापनको सधैं विश्वास जित्न सफल अनिता यदाकदा क्लाइन्टहरुसँग भेट्दा शुरुमा महिला हो भनेर कम आँक्ने गरेपनि भेटेर कुरा गरिसकेपछि आश्वस्त हुने गरेको अनुभव सुनाउँछिन् । नारी भएर जन्मन पाउनु नै बरदान हो भन्ने अनिता आत्मविश्वासी र उत्सुक महिलाले जुन सुकै क्षेत्रमा सफल नेतृत्व लिन सक्ने तर्क गर्छिन् । नारीहरुले नेतृत्व लिन पर्छ, क्षमतालाई तिखारेर आफ्नो बल बुतामा हिँड्नपर्छ भन्ने कुरामा सहमत अनिता उग्र नारीवादको भने विपक्षमा छिन् उनी भन्छिन्,’ मलाई सहअस्तित्व र समानतामा नारी पुरुष हिँडेको मन पर्छ नकि अति नारिवाद ।’
स्मारिका तिवारी
प्रमुख, ब्राण्डिङ एण्ड कर्पोरेट सीएसआर विभाग ,सिटिजन्स बैंक
कर्पोरेट सेक्टरमा कलिलो उमेरमा गोल्छा अर्गनाइजेसनबाट इन्ट्रि गरेकी स्मारिका तिवारी आज नेपालका ठूला कर्पोरेट हाउसहरुको डिजिटल मार्केटिङ रणनीति तय गर्न सक्ने मध्येकी अब्बलमा पर्छिन् । ब्राण्डिङ एण्ड मार्केटिङमा स्पेशलाइजेशन कोर्ष गरेकी उनी एमबीए मास्टर्स होल्डर हुन् ।
गोल्छा अर्गनाइजेसन हुँदै सिटिजन्स बैंकको ‘ब्राण्डिङ डिपार्टमेन्ट हेड’को जिम्मेवारी पाउँदासम्म स्मारिकाले धेरै चुनौतिका पहाड छिचोलेको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘जती नै शिक्षित समाज भएपनि सोच अझै परिवर्तन भइसकेको छैन, महिलालाई जिम्मेवारी दिँदा काम गर्न सक्ने हो कि होइन ? जिम्मेवारी पुरा गर्ने हो कि होइन ? भनेर कम आँक्ने गरेको थुप्रै अनुभव छ ।’ यद्यपि काम र परिपक्व निर्णय गरेर उनले आफूलाई हरेक संस्थामा अब्बल साबित गरेको सुनाउँछिन् । त्यसो त स्मारिकाले व्यवसायिक करियर गोल्छा अर्गनाइजेसको फ्याक्ट्री आउटलेटबाट शुरु गरेकी हुन् । फ्याक्ट्री आउटलेटमा हुँदा नै ‘बिजनेस टु बिजनेस’र ‘बिजनेस टु एडभर्टाइजिङ ‘दुइटै जिम्मेवारी सम्हाल्न सक्ने भइसकेकी थिइन् । विश्वबजारका नयाँ आयाम र अवसर क्यास गर्न सक्षम स्मारिकाको चतुर कलाकै कारण एक पछि अर्को सफलता उनलाई पछ्याउँदै आए उनी काम खोज्न जानै परेन । ‘फ्याक्ट्री आउटलेट’मा काम गरिरहँदा उनलाई ठूल ठूला व्यापारिक घरानाबाट कामका लागि बोलावट भैरह्यो । यो बीचमा उनी कान्तिपुर मिडिया ग्रुप हुँदै केडिया अर्गनाइजेसनसम्म मिडिया म्यानेजरको रुपमा काम गर्न पुगिन् ।
समयको गतिसँगै कोभीडको समयमा २०७७ सालमा एनआइसी एसियामा ब्राण्डिङ डिपार्टमेन्टमा प्रवेश गरेकी स्मारिका त्यसपछि गरिमा विकास बैंकमा ‘अपग्रेडेड’ भएर ‘युनिट हेड अफ डिजिटल मार्केटिङ’को जिम्मेवारी निभाउन पुगिन् । चुनौतिपूर्ण काम गर्न मन पराउने स्मारिकालाई सिटिजन्स बैंकमा ‘ब्राण्डिङ’ र ‘कर्पोरेट सीएसआर’ दुवै हेर्ने गरी विभागीय जिम्मेवारीको अफर आयो जसलाई अहिले उनी निभाइरहेकी छिन् । स्मारिका भन्छिन्, ‘आफूलाई समय अनुसार ढाल्ने प्रयत्न गर्नुपर्छ, समयको माग अनुरुप आफ्नो शीप र दक्षता बढाउँदै जानुपर्छ । यहाँसम्म आइपुग्दा धेरै घुम्ती मोडहरु पार गरेकी छु,’उनी आफ्नो अनुभव सुनाउँछिन् ।
‘नेपाली समाजको प्रतिविम्ब कर्पोरेट क्षेत्रमा पनि स्पष्ट देखिन्छ ।कतिपयले जिम्मेवारी दिन भन्दा अगाडि महिलालाई पुरातनवादी सोचले हेर्ने, कमजोर ठान्ने गर्छन् तर आफूला्ई हर क्षेत्रमा अब्बल साबित गर्न मेहनत गर्नैपर्ने हुन्छ । डेभेलेपमेन्ट बैंकबाट कमर्शियल बैंकमा आउँदासम्म थुप्रै ठाउँमा आफूलाई प्रमाणित गरेको छु । जे भएपनि महिला धेरै कसिमा जाँचिनुपर्छ, जुन पुरुषलाई नपर्न सक्छ । जब एक दुई ठाउँमा छाप छोडिन्छ त्यसपछि धेरै ठाउँमा जोखिइरहन पर्दैन’ उनी आत्मविश्वास प्रकट गर्छिन् । ‘दृढताले हिँडेपछि आँधि तुफान आउँछ तर सहँदा सहँदा ढुंगा भइँदो रैछ,’ उनी सुनाउँछिन् ।
झट्टै अवसर पाइएन भनेर विदेशिन चाहने युवा महिलाहरुलाई ज्ञान र क्षमताले आफूलाई तिखारेर धैर्यताका साथ पालो कुर्न स्मारिका सुझाव दिन्छिन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !