काठमाडौ । वि.सं. २०५९/६० सालतिरको कुरा हो, कृष्ण अधिकारी नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा हेल्थ असिस्टेन्टको रुपमा काम गर्दै थिए । त्यतिवेला माओवादी युद्ध चरम उत्कर्षमा थियो । अस्पतालमा स्वास्थ्यकर्मी भएर काम गर्न थालेपछि के सरकारी पक्ष, के माओवादी जो सुकै उपचार गर्न आएपनि उपचार गरिदिनुपथ्र्यो । उक्त अस्पतालमा हरेक शनिवार आर्मीका डाक्टर पनि आउने भएकाले माओवादीको उपचार गरेको थाहा पाए समस्या होला भन्ने डर अधिकारीमा थियो । निर्धक्क भएर काम गर्न सक्ने वातावरण थिएन । अस्थिर राजनीतिले बेचैन अधिकारीको मन राजनीति जस्तै अस्थिर बन्यो ।
निर्धक्कसँग काम गर्न नपाइने भएपछि अधिकारीले अन्ततः देश छाड्ने निर्णय गरे । कम्तीमा निर्धक्क भएर त काम गर्न पाइयोस भन्दै उनी श्रम बेच्न विदेशी भुमिमा जाने निधो गरेर काठमाडौ हानिए । काठमाडौ जुन सपनाको ट्रान्जिट, गन्तव्यको ट्रान्जिट र कर्म गर्नेहरुको कर्मथलो । जहाँबाट कैयौ सपनाहरु साकार बने, जहाँबाट कैयौ श्रमशक्तिहरु विदेशीए । अहिले पनि काठमाडौ कसैका लागि सपनाको गन्तव्य हो भने कसैको लागि सपनाहरुको भग्नावशेष पनि हो ।
आफुले चाहने वित्तिकै भिषा लागेर गइहाल्न सक्ने स्थिती नदेखेपछि अधिकारी खर्च जोहोका लागि काम त गर्नै पर्यो भन्ने सोचेरे कलंकीको बाघ भैरव पोलिक्लिनिकमा काम गर्न थाले । त्यही काम गर्दा गर्दै साथीले इजरायलमा कृषि कामदार लैजान लागेको कुरा उनलाई सुनाए । जुन सपना बोकेर काठमाडौ आएका थिए त्यही सपना पुरा हुन लागेकोमा उनी निकै हौसिए ।
खासमा इजरायलको गाँजा क्षेत्रमा हमासको आक्रमणबाट थाइल्याण्डका कामदारको मृत्यू भएपछि थाइल्याण्ड सरकारले उक्त क्षेत्रमा कामदार जान प्रतिबन्ध लगायो । त्यसपछि बल्ल नेपाली कामदारको माग भयो । थाइल्याण्डका नागरिक नगएपछि बल्ल कृष्ण अधिकारी जस्ता नेपालीले सो क्षेत्रमा कृषि कामदारको रुपमा इन्ट्रि गर्न पाएको अधिकारी सुनाउँछन् । उनले हिमालयन भन्ने मेनपावरमा पासपोर्ट छोडेको एक वर्षपछि बल्ल नेपाल छोड्न पाए ।
अनि शुरु भयो सपनाको गन्तव्य….
४ लाख १९ हजार रुपैयाँ लगाएर अधिकारी इजरायल पुगे । उनले त्यतिबेला घरजग्गा धितो राखेर बंगलादेश बैंकबाट २ लाख रुपैयाँ बैंक ग्यारेन्टी समेत देखाएका थिए । कृषि पेशाका लागि इजरायल गएका अधिकारीलाई लिन एउटा अजंगको ठुलो बन्दुक बोकेको मानिस उनी सामु उभिए जो उनलाई रोजगार दिने कम्पनीका हाकीम थिए । ति हाकीमले अधिकारीलाई गहुँ बारी नै बारी हिडाएर काम गर्ने ठाउँसम्म लगे । त्यतिबेला अधिकारीले मन मनै सोचे लौ बर्बाद भयो, नेपालमा जस्तै कृषिको काम गर्नुपर्ने भयो । तर, उनले सोचेको जस्तो थिएन इजरायलको कृषि पेशा । नेपालमा हातले नै गर्ने कृषि पेशा त्यहाँ मानिसको कम प्रयोग र मेसिनको बढी प्रयोग हुन्थ्यो ।
उनले शुरुमा फुलखेतीमा काम गरे ।इजरायलको गाँजा क्षेत्रमा काम गर्ने भएकाले बेला बेला पड्कने बन्दुकले अधिकारी तरंगित हुन्थे । इजरायलको गाँजा क्षेत्र पश्चिम एशियामा अवस्थित एक सानो भूभाग हो । यो क्षेत्र इजरायल र मिस्रको बीचमा रहेको छ, र यसको समुद्री सीमा भूमध्य सागरसँग छ । गाँजा क्षेत्रको शासक समूह हमास हो, यसले २००७ देखि यो क्षेत्र नियन्त्रण गरिरहेको छ ।
नेपालको अस्थिर राजनीतिबाट तर्सिएका अधिकारी त्यो भन्दा भयानक असुरक्षित स्थानमा पुगे । त्यतिबेला इजरायल भरी नै करिब ५० जना जति मात्र नेपाली कामदार भएको अधिकारी बताउँछन् ।
प्लाष्टिकको घरमा सानो प्वाल बनाएर सास फेर्थे
प्लाष्टिकको घर जुन/जुलाई महिनाको गर्मी त्यही भित्रको बालुवा झण्डै ५० डिग्रिसम्म पुग्थ्यो गर्मी । पसिनाले निथ्रुक्कं भिजेको शरिर, श्वास फेर्दा आउने तातो हावा अनि सम्झन्थे नेपाल । त्यतिवेला अस्थिर राजनीति जसले उनलाई विदेशीन बाध्य बनायो अनि रिस उठ्थ्यो त्यही राजनीतिक प्रणालीसँग । तैपनि यति धेरै दुःख गरेको भए नेपालमा नै कमाइन्थ्यो होला भन्ने सोचले पनि उनलाई बेला बेला झस्काइरहन्थ्यो । शुरुको ५/६ महिना त उनले घर फर्कन पाए हुन्थ्यो भन्दै भगवानलाई पुकार्ने गरेको सुनाउँछन् ।अगामिस भन्ने कम्पनीको कृषि खेतीमा अधिकारीले ८ घण्टा त काम गर्नै पथ्र्यो । बढी पैसा कमाउने लोभले उनले बिहान ६ बजेदेखि बेलुका ५/६ बजेसम्म काम गर्थे ।
इजरायलमा बिहान ६ बजेदेखि ८ घण्टा काम गर्ने चलन छ । बेलुका रहेको तरकारी र विहान पकाएको दाल भात टिफिन बक्समा हालेर विहान ६ बजे काममा पुग्नुपथ्र्यो । साथमा फ्रिजमा आइस बनेको पानी १० लिटरको ज्ञालिनमा हालेर लैजान्थे । ब्यापक गर्मी हुने भएकाले थर्माकोलमा बेरेर लगेको पानीले उनलाई केही राहत दिन्थ्यो । कति मानिसहरु त्यही काम गर्दा थर्दै बेहोस भएर ढल्थे ।बाहिरको हावा लिन मन लागेपछि अधिकारीले प्लाष्टिकको घरमा सानो प्वाल बनाएर नाक बाहिर निकाल्थे र मज्जाले श्वास लिन्थे । बेला बेलामा बाहिर नाक निकालेर श्वास लिने र अरुबेला काम गर्नेक्रम जारी रहन्थ्यो ।
तर त्यहाँ काम गरेपछि समयमै तलब पाइने व्यवस्थाले उनलाई तानेको थियो । अधिकारी भन्छन, ‘काम र तलब दिने शैली राम्रो थियो । ८ घण्टा काम गर्नुपथ्र्यो । शुरुवाती चरणमा १० घण्टाजति काम गर्नुपथ्र्यो । त्यतिबेला मेरो बानी नपरेर गाह्रो भयो पछि सजिलो हुदै गयो । तलब समयमा पाइन्थ्यो । ओटी दोब्बर जस्तो पाइन्थ्यो । महिनाको त्यतिखेर ७०÷८० हजार रुपैयाँ थियो । पछि डलरको भाउ बढ्दै गएपछि तलब पनि बढ्दै गयो ।’
पछिल्लो समय २०११ तिर अधिकारी मासिक डेढ लाख रुपैयाँसम्म कमाउँने भएका थिए ।ग्रिन हाउसभित्र तरकारी खेती, नर्सरी बेर्ना बनाउँने काम सिकेका उनले श्रीमतीको केयर गिभरको भिषा सकिएपछि नेपाल फर्कने निधो गरे । यहाँ गरेको दुःख नेपालमा गरे यहाँ भन्दा बढी कमाउँछु भन्ने अठोटका साथ उनी नेपाल फर्किए ।
अनि कमाउन थाले महिनाकै १० लाख
नेपाल फर्किएर उनले लोलाङ, धर्मस्थलीमा जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरे शुरुमा ३ लाख लगानी गरेर व्यवसाय शुरु गरेका उनले टमाटर स्ट्रबेरी जस्ता फलफुल राम्रै फलाए र इजरायलमा सिकेको सिपलाई प्रयोग गर्दै व्यावसायिक खेती सँगसँगै कृषि प्रविधिको पनि व्यापार गर्न थाले । कृषिमा अझ राम्रो गर्न सकौ भनेर उनी जापानमा गएर तालिम लिएर आए । सात वर्षका लागि लिएको जग्गाको करार अवधि सकिएपछि उनले कृषि व्यवसायलाई रोकेर कृषि प्रविधिलाई अघि बढाए ।
उनी भन्छन्, ‘थोपा सिँचाइ प्रविधि, किसानहरुलाई सिकाउने, बुझाउने गर्दै थिए र ति मेसिनहरु ल्याउँदै बेच्दै पनि गरे । ५÷७ वर्ष यता राम्रै बिक्रि हुन थालेको छ । ग्रिनहाउसका प्लास्टिक, थोपा सिँचाइ प्रविधि, कोकोपिट, पिटमस, नर्सरी, बेर्ना बनाउँने चिज बेच्ने गरेको छु ।’
सलोन एग्रिकल्चर प्रालिको नामबाट उनले कृषि प्रविधिहरु बिक्रि गर्दै आएका छन् । सलोन भनेको इजरायल भाषामा नमस्ते हो ।
अहिले अधिकारीले मासिक १० लाखसम्म कमाउँछन् । २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पछिल्लो समय तराइमा अंगुरको व्यावसायिक खेती गर्न जग्गा खोजि रहेको बताउँछन् । आफ्नो व्यवसाय प्रति सन्तुष्ट अधिकारी आफ्ना कुनै पनि छोराछोरीले विदेश जानु नपरोस भन्ने कामना गर्ने गरेका छन् । आफुले खेपेको दु :ख सन्तति माथि नपरोस, विदेशमा पसिना बगाउँन सक्नेले देशमा पनि हिम्मत गरे त्यही पसिनामा सुन फलाउन सकिने उनलेको बुझाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !