काठमाडौ । सधै चर्चामा रहने नियामक निकायको प्रमुखको नियुक्ति प्रक्रिया प्रायः नेपालमा सत्ता साझेदारहरुको भागबण्डाको विषय बन्दै आएको छ । त्यसमा पनि अर्थमन्त्रालय मातहतका नियामक निकायको नियुक्तिमा तिब्र राजनीतिकरण हुँदै आएकोे छ । वर्तमान सरकारमा ६ वटा दलले सत्ता साझेदर गरेका छन् । यसमा पनि प्रमुख दलका रुपमा नेपाली कांग्रेस र नेकपा एमाले छन् । यी दलले आफ्नो स्वार्थ पुर्तिको बलियो आधार पाउने निकायमा दाबी गर्दै आएको विगतमा केही निकायमा भएको नियुक्ति प्रक्रियाले छर्लङ्ग पारेको छ । यसअघि धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणको भागबण्डा मिलिसकेको छ ।
पछिल्लो भागबण्डाको चर्चा गभर्नरको हो । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैत २५ गते सकिँदैछ । यसकारण पनि अबको केही दिनमै अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर नियुक्ति समिति गठन हुनेछ । सो समितिले गभर्नर छनौट प्रक्रिया अघि बढाउने छ ।
गभर्नर एमालेले राख्छ कि कांग्रेसले भन्ने नै स्पष्ट तस्बिर बनिसकेको छैन । केही दिन अघि बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणको अध्यक्ष (कांग्रेसको पोल्टाको) नियुक्ति गर्दा नै गभर्नर एमालेले राख्ने सहमति भएको स्रोत बताउँछ । तर, एमालेको उक्त अडान अहिले डाइभर्ट भएको छ ।चुनाव दलहरुको अस्तित्वको लडाई भएकाले अबको २ वर्षपछि हुने चुनावी सहजताका लागि गभर्नर पद छोडेर एमाले निर्वाचन आयुक्ततर्फ डाइभर्ट भएको बुझिएको छ । अहिले आयुक्त रहेका दिनेश थपलियाको कार्यकाल आगामी बैशाखमा सकिदैछ । यद्यपि यो विषयमा ठोस धारणा भने बनिसकेको छैन ।
को- को छन् गभर्नर बन्ने लाइनमा ?
गभर्नरको चर्चामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी देखि बहालवाला कर्मचारीसम्म, केहि बैकर्स र पुर्व अर्थसचिव समेत रहेका छन् । गभर्नर छनौट समितिले डेपुटी गभर्नर द्वय मध्येबाट एक जनाको नाम अनिवार्य राखेर तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भएकाले हालका दुई डेपुटी गभर्नर डा. निलम ढुंगाना र बम बहादुर मिश्रको चर्चा स्वभाविक हुने भइहाल्यो । यी दुईमध्ये डा. ढुंगानालाई गभर्नरको लागि बलियो उम्मेदवार मानिन्छ । एमाले निकटकी निलम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाकी पनि हुन् । नेपालको इतिहाँसमा हालसम्म महिला गभर्नर बनेको छैन । यसकारण पनि एमालेले निलमलाई गभर्नर बनाएर इतिहास रच्न सक्ने एकाथरिको विश्लेषण छ ।
अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रलाई गभर्नरको लडाईमा होमिएका मध्ये कमजोर पात्रको रुपमा हेरिएको छ । मौन रणनीति भए मात्र हो नत्र उनको चर्चा पार्टीपंक्तिमा खासै छैन । यद्यपि उनले सभामुख देवराज घिमिरे मार्फत लविङ गरिरहेको बुझिएको छ ।
यस्तै गभर्नरको चर्चामा रहको अर्को पात्र चिन्तामणि शिवाकोटी हो । उनी पुर्व डेपुटी गभर्नर पनि हुन् । महाप्रसाद अधिकारी गभर्नर बन्ने बेला उनको ब्यापक चर्चा भएको थियो । आफु एमालेको खास मान्छे भएको बताउने शिवाकोटीलाई आउट गरेर अन्तमा एमालेले अधिकारीलाई गभर्नर बनायो ।
अहिले भने शिवाकोटी एमालेमा आफु निकै पुरानो र पार्टीको लागि दु :ख गरेको मान्छे भएकोले पार्टीले उनलाई रोज्ने दाबी गर्छन् । केपी ओली देखि अर्थमन्त्रीसम्म आफ्नो सम्बन्ध राम्रो भएको उनको दाबी छ । शिवाकोटी पार्टीमा मात्र होइनन अनुभव र योग्यताका आधारमा क्षमतावान व्यक्ति हुन् भन्नेमा दुविधा छैन । उनी अहिले राष्ट्र बैंकको सञ्चालकको हैसियतमा छन् ।
गभर्नर देशको ढुकुटीको व्यवस्थापन गर्ने व्यक्ति भएकोले यस पदमा अनुभव र योग्यता चाहिन्छ भन्नेमा एमाले र कांग्रेसको नै एकै मत छ । तर अहिले गभर्नरको चर्चामा रहेका पात्रहरु धेरैजसो राष्ट्र बैंकमा जोडिएका/जोडिइसकेका पात्र हुन् । गभर्नरको चर्चाको अर्को नाम हो डा. प्रकाश श्रेष्ठ । नेपाल राष्ट्र बैंकमा महत्वपूर्ण जिम्मेवारीमा काम गरेका श्रेष्ठलाई एमालेले योजना आयोगमा नियुक्ति दिइसकेको छ । गभर्नर भन्दा ठुलो पदमा नियुक्ति खाएका श्रेष्ठ फेरी गभर्नर बन्ने लाइनमा रहेको चर्चा छ । अनुभव र योग्यताका आधारमा क्षमतावान भएपनि आयोगमा पुगिसकेका श्रेष्ठलाई भन्दा पनि अर्को व्यक्तिलाई एमालेले अवसर दिनसक्ने अनुमान गरिएको छ ।
यस्तै पूर्व अर्थसचिव रामेश्वर खनालको नाम पनि चर्चामा छ । खनालले देशको अर्थतन्त्र धरमराइरहेको बेला कसरी अर्थतन्त्र सुधार्न सकिन्छ भनेर अध्ययन गर्न सरकारले गठन गरेको आर्थिक सुधार सुझाव कार्यदलको संयोजकको भुमिकामा रहेर अध्ययन गरेका थिए । सफा छवि भएका र देशको अर्थतन्त्रलाई नजिकबाट नियालेका खनाल निर्णय प्रक्रियामा खरो उत्रने सक्ने व्यक्ति हुन् ।
यता राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम पनि चर्चामा छ । उनी सुदुरपश्चिमका हुन् । कांग्रेस निकट भट्ट अर्थमन्त्री डा. प्रकाश शरण महतको आर्थिक सल्लाहकारको रुपमा रहेका थिए । लगानी बोर्डमा सिइओको भुमिकामा रहेर काम गरेका सुशिल भट्ट कांग्रेस निकट हुन् । उनको पनि नाम चर्चामा छ । यस्तै नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानाको नाम पनि गभर्नरको चर्चामा छ । प्रभु बैंकका सीईओ अशोक शेरचनको नाम पनि चर्चामा छ । उनी पुर्व राष्ट्रपति विद्या भण्डारी निकट रहेको बुझिएको छ ।
देशले खोजेको गभर्नर कस्तो हो ?
अर्थविद् केशव आचार्य बुझेको र कसैको प्रलोभनमा नबिक्ने गभर्नर अहिलेको आवश्यकता भएको बताउँछन् । उनी भन्छन, ‘शैक्षिक योग्यता अनिवार्य हो तर त्यो भन्दा बढी प्रतिवद्ध, मौद्रिक नीतिलाई बुझेको, राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्था ऐनलाई सम्मान गर्ने व्यक्ति हुनुपर्छ । नीजि क्षेत्र, बैंक तथा वित्तिय संस्था र अन्र्तराष्ट्रिय दातृ निकायलाई सँगसँगै लैजान सक्ने क्षमता चाहिन्छ ।’
पछिल्लो समय ऋणीहरु कालोसुचीमा पर्ने क्रम बढीरहेको छ । यस्तै बैंक तथा वित्तिय संस्थाको खराब कर्जा पनि बढिरहेको छ भने अधिक तरलताको व्यवस्थापन हुन सकेको छैन । यस्तो समस्यालाई चिरेर अगाडी बढ्न सक्ने गभर्नर आए अर्थतन्त्रमा केही सहज हुने अर्थविद् आचार्यको बुझाई छ ।
यता, पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले वित्तिय क्षेत्रलाई बुझेको व्यक्ति मात्र गर्भनर बन्नुपर्ने बाणिज्य पोष्टलाई बताए । उनी भन्छन्, ‘गभर्नर देशको अर्थतन्त्र र वित्तिय अवस्थालाई राम्ररी बुझेको र कार्यन्वयन क्षमता दरो भएको व्यक्ति अहिलेको आवश्यकता हो ।’
पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री पनि वित्तिय स्थायीत्व र मूल्य बृद्धि नियन्त्रण गर्न सक्ने व्यक्ति आगामी गभर्नर बन्नुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘अहिले ब्याजदर घटेपनि कर्जा प्रवाह बढ्न सकेको छैन । यसो हुनुमा अर्थतन्त्रमा आएको मन्दी भनिएको छ । यही मन्दीका बीच पनि उद्यम व्यवसाय चलाउन के गर्नुपर्छ भन्ने ज्ञान भएको मान्छे गभर्नर बनेर आयो भने देशमा लगानीको वातावरण पनि बन्छ र रोजगारी पनि सृजना हुन्छ ।’
विज्ञहरुले विशेषगरी अहिले देशमा बैकिङ क्षेत्रको मर्म बुझ्ने, लगानीको वातावरण सृजनाका लागि सहजकर्ताको भुमिका निभाउने व्यक्तिको खाँचो भएको बताउँछन् ।
अर्थमन्त्रीको कमाण्डरमा गभर्नर छनौट
देशको मुद्रामा हस्ताक्षर गर्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर हो । जो बैंक तथा वित्तिय संस्थाहरुको नियामक पनि हो । यसकारण पनि यो आकर्षक पद हो । सरकारको ढुकुटी रहने राष्ट्र बैंकलाई बैंकहरुको पनि बैंक भनिन्छ । नयाँ जारी हुने नोटमा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर रहन्छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख छ । सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।
गभर्नर छनौटमा अर्थमन्त्री आफै प्रत्यक्ष संलग्न हुने भएकाले प्रधानमन्त्री मात्र नभई अर्थमन्त्रीलाई पनि रिझाउन उम्मेव्दारहरु दौडधुप अगाडी बढाउँछन् ।
गभर्नर छनौट समितिमा अर्थमन्त्री अध्यक्ष, पूर्वगभर्नर मध्यबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, वित्तिय क्षेत्र, बाणिज्य कानुनको क्षेत्रमा ज्ञाता व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एकजना सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !