सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकाका किसानहरू काउली खेतीतर्फ आकर्षित हुन थालेका छन् । तरकारीका लागि उर्वर भूमि मानिएको सुनसरीको देवानगंज गाउँपालिकाका किसानहरू अहिले मौसमी काउली र बन्दाकोबीबाट मनग्य आम्दानी लिइरहेका छन् ।
कम मेहनत र थोरै परिश्रमबाट राम्रो उत्पादन गर्न सकिने भएपछि देवानगंजका किसान सुनिल मेहताले करिब ३ बिगाहा क्षेत्रफलमा काउली लगाएर मनग्य आम्दानी लिन सफल भएको बताए ।
दैनिक रुपमा रु. पाँच हजारदेखि आठ हजार सम्मको काउली बेच्ने गरेको उनको भनाइ छ । मेहताले हाल चाडपर्वसँगै विवाह, व्रतबन्ध समेत हुने गरेकोले बजारमा काउलीको माग बढेका कारण आफु सो खेतीतर्फ आकर्षित भएको उनले बताए ।
सबै खर्च कटाएर माघ पहिलो सातासम्म दुई लाख बचत भएको मेहताले जानकारी दिए । अर्का किसान दिपक पालले पनि एक बिगाहा क्षेत्रफलमा गरिएको काउली खेतीबाट राम्रै प्रतिफल पाएको बताए । अन्य बालीको तुलनामा थोरै गोडमेल गर्नुपर्ने तथा दुई देखि तीन पटकसम्म सिँचाई पुर्याए काउली खेतीबाट राम्रो आम्दानी हुने गरेको पालले जानकारी दिए ।
सुरुमा यस भेगका किसानले सानो क्षेत्रफलमा काउली खेती लगाउने गरेकोमा हाल आएर बजार माग बढेसँगै काउली खेती विस्तार गरिरहेका छन् ।
किसानले उत्पादन गर्ने काउली स्थानीय हाट बजारमा विक्री हुनुका साथै खेतबारीमै व्यापारीहरू आएर लाने भएकाले विक्री वितरणमा खासै समस्या नरहेको अर्का किसान राम किसुन मेहताको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !