यस्तो अवस्थामा मात्र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुनसक्छ

२०८१ मंसिर १६ गते

यस्तो अवस्थामा मात्र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुनसक्छ

काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार पनि बढेको छ । आइतबार ३.३० प्रतिशतले बढेको यसको सेयर मूल्य एक कित्ताको ८१४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले समस्यामा परेको कर्णाली डेभलपमेन्ट बैंकलाई शिघ्र सुधारात्मक कारबाही गरेको भोलीपल्ट (बुधबार) सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि यसको मूल्यमा चलखेल भएको आशंका गरिएको थियो ।

उक्त दिन बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४५ रुपैयाँ ९० पैसा पुग्यो । बैंकको २० करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  यस बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोके बमोजिमको न्यूनतम पूँजी कोष अनुपात कायम नभएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत रहेको भन्दै केन्द्रिय बैंकको शिघ्रसुधारात्मक कारबाहीमा बैंक परेको थियो ।

Advertisement:

Ad
Ad

कतिपयले समस्यामा परेको बैंकको सेयर कारोबार किन नरोकिएको भन्दै चासो राखेपछि हामीले यस विषयमा नियामक नेपाल धितोपत्रबोर्डसँग जिज्ञासा राखेका थियौँ ।

बोर्डका एक अधिकारीले नेपाल राष्ट्र बैंकले समस्यामा परेको सार्वजनिक सुचना नै जारी गरेपछि नेपाल स्टक एक्सचेन्जलाई उक्त बैंकको सेयर कारोबार केही दिनका लागि स्थगित गर्न सक्ने अधिकार भएपनि उसले त्यसबारे कुनै पहल नगरेको बताए । धितोपत्र बोर्डले नै कारोबार रोक्का राख्न त्यतिकै निर्देशन दिन नमिल्ने भएकाले बोर्डले नेप्सेसँग कर्णाली डेभलपमेन्ट बैंकको कारोबारको विवरण मागेको छ । उक्त विवरण नेप्सेले पठाएपछि सेयर कारोबारमा कर्नरिङ भएको पाइए रोक्का राख्न निर्देशन दिने बोर्डका ती अधिकारीले भने । यदि कर्नरिङ नभइ लगानीकर्ताले जाना जान कारोबार गरेको भए उक्त विषय लगानीकर्ताको अधिकारसँग सम्बन्धित भएकाले कारोबार रोक्का राख्न नमिल्ने अधिकारीले भने । यद्यपि, केन्द्रिय बैंकले नै सेयर कारोबार रोक्का राख्न पत्र पठाएको खण्डमा भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने ती अधिकारीले बताए ।

नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले २०८१ मंसिर ११ गते एक सूचना प्रकाशित गर्दै कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडलाई थप निक्षेप लिन तथा कर्जा प्रवाह गर्न र नयाँ निक्षेप खाता खोल्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरेको बताएको थियो।

यस बैंकको ५० लाख २८ हजार ३ सय कित्ता सेयर दोस्रो बजारमा कारोबार हुने गरेको छ ।  पछिल्लो समय सेयरको दोस्रो बजारमा खराब वित्तीय सूचक भएकै कम्पनीहरुको भाउ नै उचालिने गरेको छ । केही व्यक्ति तथा स्वार्थ समूह मिलेर कम पुँजी भएका र वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरुको बजार भाउ बढाउने गरेका छन् । यसअघि पनि नेपाल फाइनान्सको सेयर मूल्य अचाक्ली महंगो हुँदा यस विषयले संसदको अर्थसमितिमा पनि प्रवेश पाएको थियो । त्यतिबेला पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले खराब वित्तिय अवस्था भएको कम्पनीको सेयर मूल्य उचालिएको विषयमा छानविन हुनुपर्ने बताएका थिए । वित्तिय स्थिती कमजोर भएको वा समस्यामा परेका कम्पनीको सेयर खरिदबिक्रिमा लगानीकर्ता आफ्नो चनाखो हुनुपर्ने जानकारहरु बताउँछन् ।