बागमती प्रदेशको कृषि उत्पादन ७.८ प्रतिशतले घट्यो, औद्योगिक क्षमता उपयोगमा भने सुधार

२०८३ असोज २७ गते

बागमती प्रदेशको कृषि उत्पादन ७.८ प्रतिशतले घट्यो, औद्योगिक क्षमता उपयोगमा भने सुधार

काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२.८३ मा ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार राष्ट्रिय आर्थिक वृद्धिदर भने ३.८५ प्रतिशत रहने अनुमान छ।

 

Advertisement:

Ad

प्रतिवेदन अनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.२३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र सेवा क्षेत्रको ७६.५३ प्रतिशत रहने अनुमान छ। यसले प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रमुख भूमिका रहेको देखाउँछ।

 

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान छ। चालु आर्थिक वर्षमा भने राष्ट्रिय आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

 

कृषि उत्पादनमा गिरावट
बागमती प्रदेशमा चालु आर्थिक वर्षमा खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल १।४ प्रतिशतले घटेको छ। सोही अवधिमा बाली उत्पादन ७.८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। प्रमुख खाद्यान्न बालीमध्ये धानको उत्पादन ०.४ प्रतिशत, मकैको ०.३ प्रतिशत, गहुँको २.५ प्रतिशत, कोदोको ०.३ प्रतिशत, जौको १३.६ प्रतिशत र फापरको उत्पादन २.५ प्रतिशतले बढेको छ। तरकारी तथा बागवानी उत्पादनमा पनि २.८ प्रतिशतको वृद्धि देखिएको छ। पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ०.७ प्रतिशत र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ। तर अण्डा उत्पादन भने ८.३ प्रतिशतले घटेको छ।

 

कृषि उत्पादनमा समग्र गिरावट देखिए पनि प्रमुख खाद्यान्न बालीमध्ये अधिकांशको उत्पादन बढेको विवरणले उत्पादन परिवर्तनमा बालीअनुसार फरक प्रवृत्ति रहेको देखाउँछ।  कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा कुल कर्जाको ३.३ प्रतिशत मात्र रहेको छ। प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानको तुलनामा यस क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा न्यून देखिएको छ।

 

औद्योगिक क्षमता उपयोगमा सुधार
बागमती प्रदेशका अध्ययनमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग चालु आर्थिक वर्षमा ४१.०८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षमता उपयोग ३७.४९ प्रतिशत थियो। यसअनुसार औद्योगिक क्षमता उपयोग ३.५९ प्रतिशत बिन्दुले बढेको छ। यद्यपि अध्ययनमा समेटिएका उद्योगहरूले औसतमा आफ्नो कुल उत्पादन क्षमताको आधाभन्दा कम मात्र उपयोग गरेको देखिन्छ। प्रदेशमा प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा जाने कर्जाको हिस्सा ३६।८१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

 

होटलको अकुपेन्सी ४७.९ प्रतिशत
सेवा क्षेत्रअन्तर्गत अध्ययनमा छनोट गरिएका होटलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको छ। प्रतिवेदनअनुसार २०८२ कात्तिकदेखि होटलहरूको अकुपेन्सी क्रमशः सुधार हुँदै गएको छ। घरजग्गा कारोबारमा भने मिश्रित अवस्था देखिएको छ। समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन संख्या ९.६ प्रतिशतले बढे पनि रजिस्ट्रेसनबाट प्राप्त राजस्व १६.८ प्रतिशतले घटेको छ।

 

यसैगरी, बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट संकलन गरेको निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशतले बढेको छ। सोही अवधिमा कर्जा प्रवाह ९.०७ प्रतिशतले वृद्धि भएको छ। यस्तै प्रदेशमा सवारीसाधन दर्ताको संख्या पनि समीक्षा वर्षमा २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

 

४९.५८ किलोमिटर नयाँ सडक निर्माण
पूर्वाधार विकासतर्फ बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा १४३.६९ किलोमिटर ग्राभेल सडक र ११७.९२ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको छ। सोही वर्षमा प्रदेशमा ४४ वटा सडक पुल र ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।

 

रोजगारीतर्फ बागमती प्रदेशबाट आर्थिक वर्ष २०८२/८३ मा एक लाख २९ हजार ६५१ जना वैदेशिक रोजगारीमा गएका छन्। यो कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत हो। राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेशमा चार हजार ३४८ जनाले रोजगारी प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ।

 

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा ६७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये २०८३ असार मसान्तसम्म ४६ अर्ब रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजनको ६८.१८ प्रतिशत हो। यस अवधिमा प्रदेश सरकारले ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।

 

बजेटको करिब एकतिहाइ हिस्सा खर्च हुन नसकेको विवरणले विनियोजित बजेटको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण रहेको देखाउँछ।