नाट्टाको चेतावनी: भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने

२०८३ असोज २७ गते

नाट्टाको चेतावनी: भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने

काठमाडौं ।  थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएका ढिलाइ र अव्यावहारिक सर्त तत्काल सुधार नभए त्यहाँका लागि सञ्चालन हुँदै आएका पर्यटकीय प्याकेज बन्द गर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले चेतावनी दिएको छ । भिसा प्रक्रियाका कारण नेपाली यात्रु र पर्यटन व्यवसायी आर्थिक जोखिममा परेको भन्दै नाट्टाले यस्तो चेतावनी दिएको हो ।

नाट्टाले भिसा प्रक्रिया सहज नबनाइए थाइल्यान्ड लक्षित पर्यटकीय प्याकेजको बिक्री, प्रचारप्रसार र समूहगत भ्रमण स्थगित गर्ने जनाएको छ । भिसा प्राप्त हुने निश्चित नहुँदा पनि यात्रुले हवाई टिकट र होटल अग्रिम बुकिङ गर्नुपर्ने बाध्यता रहेको नाट्टाको भनाइ छ ।

Advertisement:

Ad

भिसा अस्वीकृत भएमा वा यात्राको निर्धारित मिति बितिसकेपछि मात्रै निर्णय आएमा अग्रिम भुक्तानी गरेको रकम गुम्न सक्ने जोखिम रहेको नाट्टाले जनाएको छ । विशेषगरी कम मूल्यका हवाई टिकट रद्द गर्दा रकम फिर्ता नहुने वा ठूलो शुल्क तिर्नुपर्ने व्यवस्थाले यात्रु तथा व्यवसायीलाई थप आर्थिक भार परेको उसको भनाइ छ ।

नाट्टाका अनुसार आवश्यक कागजात पूरा गरेर आवेदन दिँदा पनि भिसा अस्वीकृत हुने वा समयमा निर्णय नआउने समस्याले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको छ ।

त्यस्तै, अनलाइन बुकिङ प्लेटफर्म तथा व्यावसायिक आरक्षण प्रणालीबाट गरिएको होटल बुकिङलाई पर्याप्त नमान्ने र सम्बन्धित होटलबाटै छुट्टै पुष्टि पत्र माग्ने व्यवस्थाले प्रक्रिया झन् झन्झटिलो बनेको नाट्टाले जनाएको छ ।

भिसा स्वीकृतिको सुनिश्चितता नहुँदै अग्रिम भुक्तानी गर्नुपर्ने र अन्तिम समयमा भिसा अस्वीकृत हुँदा वा निर्णयमा ढिलाइ हुँदा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्थाले नेपाली यात्रु तथा व्यवसायी अन्यायमा परेको नाट्टाको ठहर छ । उसले यस प्रक्रियामा आर्थिक शोषणको सम्भावनासमेत औँल्याउँदै निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

थाइल्यान्डको भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित बनाउन माग गर्दै नाट्टाले रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार गरेको जनाएको छ ।

भिसा प्रक्रियासँग जोडिएको सम्पूर्ण आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीले मात्रै व्यहोर्नुपर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पार्दै नाट्टाले समस्या समाधान नभए थाइल्यान्डका पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दोहोर्‍याएको छ ।