व्यावसायिक प्रावधानहरु संसोधन गर्दै एमसिए–नेपालले फेरी गर्यो २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणको लागि बोलपत्र आह्वान

२०८१ मंसिर १२ गते

व्यावसायिक प्रावधानहरु संसोधन गर्दै एमसिए–नेपालले फेरी गर्यो २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणको लागि बोलपत्र आह्वान

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ । लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडा, रातमाटे – नयाँ दमौली र नयाँ दमौली – नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ । अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् । एमसिए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्टले भने, “निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पद्र्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ ।” गत वर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुनःआह्वान अर्काे उपलब्धि हो । तीन वटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसिए–नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारण लाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको एमसीसी नेपालले भनेको छ ।

Advertisement:

Ad
Ad