विपद् व्यवस्थापनमा अन्तरिम सरकारको सक्रियताका कारण ठुलो क्षति हुनबाट जोगियो, सर्वसाधारणले गरे प्रशंसा

२०८२ असोज २० गते

विपद् व्यवस्थापनमा अन्तरिम सरकारको सक्रियताका कारण ठुलो क्षति हुनबाट जोगियो, सर्वसाधारणले गरे प्रशंसा

काठमाडौं । गत शुक्रबार र शनिबार देशभर अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले  पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा क्षति हुन नसकेको सर्वसाधारणले समेत अनुभुत गरेका छन् ।  


पहिले यस्ता विपद्का घट्नामा सूचना ढिलागरी आउने, पूर्वतयारी सुस्त हुने गरेको तर, यस पटकको सरकारले विपद्का घट्नामा नयाँ अभ्यास गरेको पाइएको छ । विपद् पूर्वानुमान र सूचना प्रवाह दुबैमा राज्य संयन्त्रले सक्रियपूर्ण भूमिका निर्वाह गर्न भएको बताइन्छ । अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका थिए । साथै लामो दुरीको सवारी आवातजावतमा पनि रोक लगाएका थिए ।

Advertisement:

Ad
Ad


उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।दिनरात नभनी उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मैदानमा खटाइएको थियो । विपद्–व्यवस्थापनले जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको सर्वसाधारणले बताएका छन् । 


दोलखाका तिलराज खतिवडा वर्तमान सरकारले विपद् व्यस्थापनमा चालेको कदमले अनुमान गरेको भन्दा कम दुर्घटना भएको बताउँछन् । दुई–चार दिनअगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्नकासाथै विभिन्न म्यासेज पठाएर सतर्कता अपनाउन आग्रह गर्ने काम सरकारबाट भएकाले उक्त काम सराहनीय भएको उनी बताउँछन् । 


उनले भने,‘बाढी–पहिरो वा बर्षा हुने भन्नेबारे खासमा पहिले सूचना दिने काममा पहिला–पहिलाको सरकारले गर्नेभन्दा यसपाली अलिकति फरक महसुस भएको छ । दुई–चार दिन अगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्ने काम भयो । सतर्कता अपनाउने काम भएको पाइयो ।  यो राम्रो काम हो ।’


त्यस्तै उनल स्वयम् मन्त्रीहरू पनि आफै फिल्डमा गएर सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम गरेको भन्दै प्रसंसा गरे । घटनामा सरकारको भूमिका हेर्दा जनताको भावनाअनुसार चल्दै गएको छ भन्ने महसुस गरिरहेको उनी बताउँछन् । त्यस्तै अर्का सर्वसाधारण व्यापक श्रेष्ठले वर्तमान सरकारको कार्यलाई खुलेर प्रसंसा गरेका छन् । यद्यपी दुई दिन सार्वजनिक गर्ने सरकारको घोषणालाई भने आलोचना गरेका छन्  ।


१८० दिन अवधि भएको सरकारले दुई दिन बिदा दिनमा हतार गरेको बताउँदै विगतको वर्षहरुको नोक्सानीको तुलनामा यस वर्ष क्षति कम हुनेगरी भूमिका निर्वाह गरेको धारणा राखे । ‘वर्तमान सरकारले गरेका कामहरू राम्रै लागेको छ । तर दुई दिन सार्वजनिक विदा घोषणा गर्नु ठिक भएन् । विदाले देशलाई धेरै नोक्सान हुन्छ । जम्मा १८० दिनमा पनि सरकारले दुई दिन बिदा दिनमा अलिकति हतार गर्यो । अरु–अरु कामहरू छन् राम्रै गरेको छ । पहिला–पहिला जुन नोक्सानी वा क्षति हुन्थ्यो यसपाली अलिक कम भएको छ । पहिलेको तुलनामा ब्लकेजÞ खोल्नका लागि जुन तदारुकता देखायो त्यो कार्य सराहनीय छ,’ उनले भने । 


यस्तै , दशैं नभनी विपद्मा सरकारले राम्रो व्यवस्थापन गरेर प्रसंसनीय काम गरेको झापाका रामचन्द्र रन्जित सुनाउँछन् । राजमार्ग बन्द गरेर सरकारले जनताको सुरक्षाको लागि चालेको कदम उचित रहेको उनको भनाई छ । उनले भने,‘सरकारको भूमिका एकदम राम्रो लाग्यो । राम्रो व्यवस्थापन भयो । सरकारले दशैं नभनी खटेको पाइयो । सुरक्षाकर्मी परिचालन राम्रो भयो । यो सरकारसँग धेरै आशा गरेको छ ।’


त्यसैगरी अर्की सर्वसाधारण शान्ता खरेल पनि सरकार जनताको साथमा छ भन्ने महशुस भएको बताउँछिन् । ‘सरकारको भूमिका राम्रो लागेको छ । बाढी र नदीमा फसेकाहरूलाई उद्धार गरिरहेको देख्दा खुशी लाग्यो । पहिलेको सरकार भन्दा अहिले ठिकै लाग्यो । जनताको साथमा सरकार छ जस्तो फिल भएको छ, उनले भनिन् । 


प्राकृतिक प्रकोप मान्छेले रोकेर नरोकिने भएका कारण पनि लामो दुरीका सवारी आवातजातमा रोक लगाएर सरकारले बुद्धीमानी पहल गरेको उनको ठम्याई छ । अर्का सर्वसाधारण तुलसी घिमिरेले भने सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए । काठमाडौं उपत्यकामा केही राम्रो काम गरेको भएतापनि उपत्यका बाहिर सोही अनुसारको भूमिका नखेलेको उनको भनाइ छ ।