त्रिविमा लाङटाङको दुई दिने फोटो प्रदर्शनी

२०८० चैत २० गते

त्रिविमा लाङटाङको दुई दिने फोटो प्रदर्शनी

काठमाडौँ । दुई दशकमा लाङटाङः प्रकृति, विविधता, भूकम्प, र जीवन’ शीर्षकमा फोटो प्रदर्शनी कार्यक्रमको सोमबार उद्घाटन भएको छ । त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा दुई दिने फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका निर्वतमान शिक्षाध्यक्ष प्राध्यापक भार्गभ घितालले दुई दशकभन्दा बढी समय लागेर फोटोको संकलन गरी लाङ्टाङको वस्तुस्थितिलाई तस्बिरको माध्यमबाट उजागर गर्ने प्रयास गरेकोमा संकलन तथा आयोजकहरुप्रति आभार व्यक्त गरे । उद्घाटन कार्यक्रममा प्राध्यापक डा. ध्यानेन्द्र राई, प्राध्यापक रायन्डल सि काइज, प्राध्यापक डा. मुकेश चालिसे, डा. लक्ष्मण खनाल, डा. नारायण कोजू, डा.लिला न्याइच्याई, सागर राज सुवेदी लगायतले फोटो संकलनको अनुभव तथा प्रदर्शनीको बारेमा आ–आफ्नो धारण राखेका थिए ।

Advertisement:

Ad
Ad

फोटो प्रदर्शनीमा राखिएका फोटोहरुको संकलन वासिङटन विश्वविद्यालयका प्राध्यापक रायन्डल सि काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डा. नारायण प्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाबाट भएको हो । अनुसन्धान र तालिमका अवसरमा लाङटाङ जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटोहरु मध्यबाट छानिएका फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

उक्त समयमा लाङ्टानको सहरीकरण, भौगोलिक परिर्वतन, रहनसहन, परम्पराका साथै २०७२ को विनासकारी भूकम्पले पारेको प्रभाव र त्यसपछि भएको पुनःनिर्माणको परिदृश्य तस्विरबाट अवलोकन गर्न सकिन्छ । सोमबारबाट सुरु भएको फोटो प्रदर्शनी मंगलबार (चैत २० गते) बिहान ११ बजेदेखि ५ बजेसम्म त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनमा हुनेछ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणसहित करिब एक हजार जनाले प्रदर्शनीको अवलोकन गर्ने अनुमान रहेको त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माको भनाइ छ ।