२०८१ भदौ २० गते
चितवन । कोरोना कालसँगै देशमा आर्थिक मन्दी चुलिँदै गएपछि देशभरका उद्योग व्यवसायमा ठूलो असर परेको छ । एकातिर मन्दी अर्कातिर लक्षित वर्गनै दैनिक रुपमा बिदेसिएपछि देशमा उत्पादन भएपनि उपभोग गर्नेको सङ्ख्या पनि घटिरहेको छ ।
देशमा व्यवसाय र रोजगारीको वातावरण नहुँदा बर्सेनि हजारौँ नेपाली बाहिरिने क्रम बढेको छ । देशमा कृषि, उद्योग, व्यवसाय धराशायी भएसँगै यसको असर सुनचाँदी व्यवसायमा पनि परेको हो । तिज आएपनि पसलमा ग्राहकको उपस्थिति ज्यादै न्यून छ । कोरानाकालसम्म सन्तोषजनक देखिएको यो व्यवसायमा लगातार मन्दी छाउँदा व्यवसायी निराश छन् । सुनचाँदीको मूल्य र मन्दी बढेसँगै अन्य थुप्रै कारणले यो व्यवसायमा गिरावट आएको बताउछन्।
आधुनिक सुनचाँदी पसल,नारायणगढका सञ्चालक विकास वर्मा । ‘देशमा आर्थिक मन्दी र सुनको मूल्य त बढी हुँदा कारोबारमा असर पर्छ नै , वर्माले भने हाम्रा नियमित ग्राहक नै यहाँ छैनन् । यहाँ भन्दा बढी विदेशमै छन् ।’ सरकारले सुनचाँदीका गहना विदेश निर्यात गर्न नीति बनाए यो व्यवसाय पुन सुधार आउने उनले बताए। ‘हाम्रो नेपाली मौलिक गहनाको माग विदेशमा उच्च छ, निर्यात मात्रै गर्न दिने हो भने, हामीलाई, कालिगढलाई काम गर्न भ्याई नभ्याई हुन्छ ।’ वर्माले भने ।
मानिसको पहिलो प्राथमिकता गाँस बासनै हो, तर यो सँगै मानिसले आफ्नो धर्म संस्कृतिलाई पनि सँगै लैजानुपर्छ । नेपाली समाजमा सुनका गहनालाई जन्मदेखि मृत्यु सम्म प्रयोग गर्ने चलन छ । पाँच दशकदेखि नारायणगढमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका न्यू लोकमान एण्ड सन्सका सञ्चालक तथा सुनचाँदी व्यवसायी संघ चितवनका कोषाध्यक्ष निलेनमान शाक्य कोरोना पछि ५० प्रतिशत भन्दा बढी कारोबारमा ह्रास आएको बताउछन् । ‘एक त केही वर्षको अन्तरालमै सुनको भाउ दोब्बर भयो, अर्को कुरा देशमा आर्थिक मन्दी पनि छायो ।’ शाक्यले भने ।
विशेषगरी सुनचाँदीका ग्राहक मध्यम वर्ग र उच्च वर्ग भएपनि अधिकांश लक्षित समुहनै बिदेसिएका कारण व्यवसायमा ठूलो असर परेको शाक्यले बताए । ‘यहाँ बस्ने अधिकांश बालबालिका र बृद्धबृद्धा छन् ,लक्षित युवा वर्ग सबैजसो विदेश छन् , नत उनीहरू फर्कन्छन नै । ’उनले भने । सुनचाँदीको मूल्य निरन्तर बढ्नु, उतारचढाव आउनु ग्राहकहरूमा खरिद क्षमतामा कमी हुनुका साथै अन्तर्राष्ट्रिय मन्दी र युद्धका कारण पनि सुनचाँदीको मूल्य बढ्दा कारोबारमा असर पर्ने गरेको व्यवसायीको बुझाई छ ।
चितवन चेम्बर अफ कर्मसका प्रथम उपाध्यक्ष एवं सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुवीन रामुदामु रसिया युक्रेन युद्ध र शक्तिराष्ट्रहरुले सुन सञ्चिति गर्दा यसको असर हाम्रो जस्तो गरिब देशमा परेको बताउछन् । ‘सुनको मूल्य बढ्नु धेरै कारण छन् , शक्तिराष्ट्रहरुले सुनमा लगानी गर्न थाले, सुनमा सुरक्षित देख्न थाले, त्यसले एक त सुनको अभाव भयो अर्को कुरा विदेशको तुलनामा भन्दा नेपालमा सुनको मूल्य बढी पनि छ ।’ शेयर बजार , देशमा अन्योल व्यावसायिक वातावरण र युवा शक्ति दिनहुँ बिदेसिएकाले पनि सुनचाँदी व्यवसायमा गम्भीर असर परेको रामुदामुको भनाई छ ।
सुनचाँदी कारोबारमा आएको ह्रास सँगै कतिपय व्यवसायीहरूले व्यवसायनै छाडेर विकल्प समेत रोजेका छन् । जिल्लामा १५ प्रतिशत व्यवसायीले छाडेको र छाड्ने क्रम बढेको बताउछन् , सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष हेम सेन्चुरी । ‘अहिले अधिकांश सुनचाँदीका ग्राहक बाहिरिने क्रम बढ्दो छ, वरिष्ठ उपाध्यक्ष सेन्चुरीले भने, देशमा कमाई गर्ने र उपभोग गर्ने युवाशक्तिनै बाहिरिएपछि हाम्रो व्यवसायमा झन असर पर्दछ । ’
सुनलाई अझैपनि विलासिताको वस्तुको रुपमा हेरिने भएकोले पनि आम ग्राहकको रोजाइमा सुनचाँदीका गहना किन्ने सङ्ख्यामा कमी आएको सेन्चुरीको भनाई छ । सङ्घमा जिल्लाभर पांँचसयको हाराहारीमा सुनचाँदी व्यवसायी आवद्ध छन् ।
प्रतिक्रिया