बजेट निर्माणमा जुटेको अर्थमन्त्रालय प्रवेशमा कडाई, योजना पार्न मन्त्री भेट्न जानेलाई प्रहरीले पनि सकेनन् रोक्न

२०८२ वैशाख २४ गते

बजेट निर्माणमा जुटेको अर्थमन्त्रालय प्रवेशमा कडाई, योजना पार्न मन्त्री भेट्न जानेलाई प्रहरीले पनि सकेनन् रोक्न

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट निर्माणको चटारोमा जुटेको अर्थमन्त्रालयमा मन्त्रालय बाहिरका व्यक्ति प्रवेशमा कडाई गरिएको छ । अर्थमन्त्रालयमा सुरक्षार्थ खटिएका एक प्रहरीका अनुसार यस्तो कडाई गरिएको करिब १५ दिन भयो । यतिखेर मन्त्रालयको दक्षिणतर्फको ढोका पूर्ण रुपमा बन्द गरिएको छ भने उत्तर तर्फको मुल प्रवेश द्वारमा प्रहरीको कडा चेकिङ पश्चात मात्र बाहिरी व्यक्तिलाई प्रवेश दिइएको छ । बजेट बनाउन मूख्य भूमिका खेल्ने बजेट महाशाखाको ढोका बन्द गरिएको छ ।

अर्थमन्त्रालयमा यतिखेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थसचिव,सहसचिव लगायतको टोली बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म आगामी आवको बजेट निर्माणमा खटिएको अर्थमन्त्रालय स्रोत बताउँछ । 

Advertisement:

Ad
Ad

मन्त्रालय प्रवेशमा गरिएको कडाईको बावजुद स्वार्थ समूहहरु अर्थ मन्त्रालयका कोठा चोटामा यतिखेर हुलका हुल बाँधेर पुगिरहेका छन् । अर्थमन्त्रीसँग भेट गरी आआफ्ना योजना तथा नीतिका लागि दवाब दिन व्यापारी, जनप्रतिनिधीदेखि नागरिक समाजका अगुवाहरु तँछाडमछाड गर्दै मन्त्रालय धाइरहेका छन् । यसरी मन्त्रालय पुग्नेहरु गेटमा सोधपुछका लागि बसेका प्रहरीले नाम टिपाउन खोज्दा झर्किफर्की गर्दै नाम न टिपाई हिँड्न खोज्ने सुरक्षामा तैनाथ प्रहरीहरु बताउँछन् । 'मन्त्रीज्यूले टाइम दिनुभएको छ हतार भैसक्यो भन्दै खुरुखुरु भित्र पस्न खोज्छन् हाम्रो जागिरको सवाल छ, तलमाथि भए जागिर जान्छ ।' एक प्रहरी गुनासो गर्दै थिए । 

त्यसो त अर्थमन्त्री विष्णु पौडेलको नीति पनि सबैलाई रिझाउनेतर्फ उन्मुख भएको बुझिन्छ । दिनमै विभिन्न पेशागत व्यपारीहरु,संघ संस्थाका डेलिगेट्सहरुलाई भेट दिइरहेका छन् । उनी आफू पनि प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सत्ता साझेदार दलक सभापति शेरबहादुर देउवासँग भेट गर्दै बजेटका सम्वन्धमा छलफल गरिरहेका छन् ।  

सरकारले गत साता संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । नीति तथा कार्यक्रमकै वरिपरी रहेर बजेट बन्ने भनिँदा नयाँ योजना बजेटमा समावेश हुन असम्भव हुने बुझिन्छ । तर यसअघिका पुराना अभ्यास हेर्दा बजेट सार्वजनिक गर्ने अघिल्लो दिनसम्म पनि अर्थमन्त्रीले विभिन्न योजनाका लागि दवाब दिने र माग बोकेर मन्त्रालय पुग्नेहरुलाई भेट दिइरहने गरेका थिए । त्यसै अभ्यासलाई पौडेलले पनि निरन्तरता दिइरहेका छन् ।