इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपछि घर छाडेर भागे स्थानीय

२०८३ साउन ३० गते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपछि घर छाडेर भागे स्थानीय

जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।

 

Advertisement:

Ad
Ad

भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको थिएन।

 

बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४स्५८ बजे गएको थियो। भूकम्प करिब १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्पहरू आएका थिए।


भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ।


यसैबिच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।


इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। यहाँ प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ का कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।