विद्यार्थी भाडा छुटमा कडाइ, ४५ प्रतिशत अनिवार्य गर्न विभागको निर्देशन

२०८३ वैशाख ०९ गते

विद्यार्थी भाडा छुटमा कडाइ, ४५ प्रतिशत अनिवार्य गर्न विभागको निर्देशन

सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट प्रभावकारी रूपमा लागू गर्न यातायात व्यवस्था विभागले पुनः कडाइ गरेको छ। विभागले सूचना जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात लाई कानुनी व्यवस्था अनुसार छुट सुनिश्चित गर्न निर्देशन दिएको हो।

२०६५ फागुन २० मा सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने प्रावधान छ। तर, पछिल्ला दिनहरूमा ‘हेलो सरकार’ र विभागको गुनासो प्रणालीमा छुट नपाएको तथा दुर्व्यवहार भएको भन्दै उजुरी बढेपछि विभागले चासो देखाएको हो।

Advertisement:

Ad
Ad

विभागका निर्देशक गणेशमान सिंह राईले हस्ताक्षर गरेको पत्रमा विद्यार्थीलाई छुट दिनु व्यवसायीको दायित्व भएको पुनः स्मरण गराइएको छ। साथै, सार्वजनिक यातायातमा यो सुविधा लागू नभएको गुनासो आएकाले तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ।

विभागले यातायात व्यवसायी र श्रमिकलाई विद्यार्थी परिचयपत्रका आधारमा अनिवार्य छुट दिन र सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्न पनि सचेत गराएको छ।

अब विद्यार्थीले कति भाडा तिर्ने ?

यदि न्यूनतम भाडा २५ रुपैयाँ कायम छ भने ४५ प्रतिशत छुटपछि करिब १३.७५ रुपैयाँ हुन आउँछ। तर सिक्का प्रयोगको सीमितताका कारण व्यवहारमा विद्यार्थीले झण्डै १४ रुपैयाँ तिर्नुपर्ने हुन्छ।