२०८१ साउन १५ गते
काठमाडौं । एक दिनको करेक्सनपछि मंगलवार नेप्से परिसूचक ३५ दशमलव ५५ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको हो । तीब्र उताब चढावको बीच अन्त्यमा खरीदकर्ता आकर्षित भएका छन् । आज न्यून २ हजार ६०९ विन्दुसम्म झरेको थियो ।
शेयर बजार प्रति लगानीकर्ता सकारात्मक हुन थालेका छन् । भएको शेयर जोगाउने र सकेसम्म नयाँ थप्नैतिर अधिकांश लगानीकर्ता लागेपछि बजारमा माग पक्ष एकदमै बलियो भएको छ । आपूर्तिभन्दा माग बढी भएपछि नेप्से निरन्तर बढ्यो ।पछिल्लो २० कारोबार दिनका नेप्से जम्मा चार कारोबार दिन घटेको छ भने बाँकी सबै दिन बढेको छ । नेप्से इन्ट्राडेको करेक्सन र केही दिनको सामान्य करेक्सनसँगै बढेको छ ।
यसबाट लगानीकर्ताको आत्मबल सकारात्मक भएको देखियो । यसोत बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ता पनि थपिएका छन् भने पुराना लगानीकर्ता आकर्षित भएका र उनीहरुले शेयर बजारमै लगानी बढाउँदा कारोबार बढेको शेयर जानकार बताउँछन् । यस्तै, बैंकहरुले सस्तो ब्याजदरमा शेयर कर्जा दिएकाले पनि कर्जा लिएर शेयर लगानी गर्नेहरु बढ्दा कारोबार रकम थप वृद्धि हुन गएको उनीहरुको भनाई छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत , फ्लोट इन्डेक्स १ दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत वृद्धि भएको छ ।३२९ धितोपत्रको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्रा शेयर २ लाख ६ हजार ६४३ पटकमा रू। १७ अर्ब २६ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । प्रोग्रेशिभ फाइनान्स,बरुण हाइड्रोपावर,सान्जेन जलविद्युत कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।
मंगलवार एशियन हाइड्रोपावर कम्पनीका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू।७९२ मा झरेको छ । दोस्रोमा गणपति लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत घटेर रू। १ हजार ८९१ मा कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू। ६० करोड १० लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ६९५ दशमलव ३० पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्टको रू। ३७ करोड ६७ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक ५ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ७६ प्रतिशत घटेको छ ।
प्रतिक्रिया