सेयर बजार घटेर बन्द, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

२०८० पुस १७ गते

सेयर बजार घटेर बन्द, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको सेयर बजार यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घटेको छ।

मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

Advertisement:

Ad
Ad

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन ३०५ कम्पनीको ८५ हजार ४३५ पटकको कारोबारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको १६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको सेयर किनबेच भएको छ।

यस दिन तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.९६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।