हितेन्द्र देव शाक्यको भावुक स्ट्याटस, 'अफगानिस्तानमा रगतसँग डलर साटेर कमाएको  र ऋणले बनाएको घर खरानी भयो '

२०८२ मंसिर ०३ गते

हितेन्द्र देव शाक्यको भावुक स्ट्याटस, 'अफगानिस्तानमा रगतसँग डलर साटेर कमाएको  र ऋणले बनाएको घर खरानी भयो '

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर भदौमा भएको जेनजी आन्दोलनमा खरानी बनेको छ । जलेको घरको खरानी उठाउँदै शाक्यले करिब साढे २ महिनापछि आफ्नो पिडा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

आफ्नो मेहनतले एउटा घर बनाउँनु हरेकको सपनाको कुरा भएको उल्लेख गर्दै भनेका छन्,  'नेपालमा आफ्नो कमाइले घर बनाउनु अतिनै कठिन काम हो ।  तर अफगानिस्तानमा रगतको सट्टामा डलर, अनि क्षणक्षणको बम र बन्दुकको डरभित्र काम गरेर कमाएर मासिक १० हजार डलर बचाएर, झण्डै एक वर्ष जोगाएर साचेको धनले अनि त्यतिले पनि नपुग्ने  भएपछी संचयकोषको ऋण लिएर मैले बनाएको यो घर, चिलिमे कम्पनीको बोनस र अलि बढी पाइने तलब बचाएर घरको ऋण तिरेको हो ।  हरेक ढलान, ढोका र प्लास्टरमा मेरो कमाइ र मेरो श्रीमतीको खटाइ छ। ' 

Advertisement:

Ad
Ad

 

शाक्यले  आफ्नी श्रीमतीलाई नेपालमा इमान्दार भएर जागिर खाएर समाजमा निकै गाह्रो हुने कुरा बताउँने गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'यहा इमानदारीले घर गृहस्थ हुँदैन, अनि बेइमानी र घुसले आत्मसम्मान दिदैन। तर, हेर त पुरा इमानदारीका साथ घर पनि र सम्मान पनि अर्जेको छु, यही हो साँचो पुरुषार्थ। मैले धेरै पटक श्रीमतीलाई सम्झाउँथे जहिले जहिले उसले मलाई अरूको धन सम्पत्ति सुनाउँथी ।'

 

आफुले इमान्दार पुर्वक कमाएर घर बनाएर के बिराए भन्दै प्रश्न गर्दै भन्छन्,  ' यदि बिराएकै हो भने  ए राज्य ए सरकार, तेरो यो अपराध हो र यो तेरो संजाय । होइन, देश र मुलुकको परिवर्तनको लागि बलिदान हो भने, भनिदेऊ, यो तेरो बलिदान, म मेरो देशको निम्ति शिर नै चढाउँछु सहर्ष। तर घुन पिसिएको, यो अर्थहीन खरानी, यो मलाई स्वीकार्य छैन।  म जवाफ खोजिरहेछु, आफ्नै घररसन्तानको खरानी हातमा लिएर, मैले के बिराए ।'