२०८१ पुस ०८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ ।
रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको ब्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भने, “सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पङ्क्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अपेक्षासहित अर्याललाई शुभकामना दिनुभएको छ ।”
पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको छ ।
यस अघि २०८० साल माघ १३ र १४ गते सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । त्यतिबेला जिम्मेवारी पाएको हिसावले रवि सहकारी सम्वन्धी मुद्दामा तानिएर सांसद पद निलम्बन भएको अहिलेको अवस्थामा पनि कार्यबाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइन्छ भन्ने अड्कल बाजीका बीच रविले हिरासतबाटै स्वर्णिमलाई नभई डीपी अर्याललाई कार्यबाहक सभापति सुम्पिन चाहेको बुझिएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाको सोमबार बसेको बैठकमा सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पङ्क्तिलाई देश निर्माण गर्ने अभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने आशाको साथ अर्याललाई दिएको बताएका छन् ।
त्यसो त शैक्षिक एवं विद्वताको हिसावले वरियतामा स्वर्णिम वाग्लेलाई रास्वपामा वरिष्ठतम् हिसावले हेरिन्छ भनेर अड्कलबाजी गरिँदै आएको थियो । रवि लामिछाने हिरासतमा हुँदा सडकमा नारा लगाउँदै प्रतिवादमा उत्रिएर होस् या पत्रकार सम्मेलन गरी रवि माथि लगाइएका आरोपको खण्डन गर्न होस् स्वर्णिमले राम्रै समय खर्चिएका थिए तर संकटको समयमा पार्टीको कावा सभापतीको जिम्मेवारी स्वर्णिमलाई नदिई डीपीलाई दिइनुले स्वर्णिमको पार्टीमा हैसियत 'ल्याइते' मात्र रहेको पुष्टि हुन्छ । नेपाली कांग्रेसबाट विद्रोह गरेर छिट्टै पदमा पुग्ने आशक्ति पालेर रास्वपा प्रवेश गरेका स्वर्णिम यतिखेर जिल्लिएका छन् ।
प्रतिक्रिया