२०८१ चैत २८ गते
काठमाडौँ।नेपाल र भारत भन्सारका उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु भएको छ ।
बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी(दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाइन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ।
नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाइन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
यसैगरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाइका सहायक महानिर्देशक, नेपालस्थित भारतिय दुतावासका प्रथम सचिव, कलकत्ता,पटना,लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता रहेको छ।
प्रतिक्रिया