२०८१ असोज १६ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क उठाउने जिम्मेवारी नयाँ कम्पनीलाई दिनका लागि खुलाइएको ठेक्का आव्हानमा एउटा पनि आवेदन परेको छैन । विमानस्थलमा भएको पार्किङ शुल्क उठाउने ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको थियो । ३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा एउटा पनि आवेदन नपरेपछि पुन ठेक्का आव्हान गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले वाणिज्यपोष्टलाई बताए । असोज १६ गते (आज) आव्हान गरिएको ठेक्काका लागि ३० दिनभित्र आवेदन दिनुपर्नेछ ।
ठेक्का लिन चाहनेले न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्म कबोल गरेको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ । यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ । सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकिएपछि नयाँ ठेक्का प्रक्रियाको आव्हान भइरहेपनि अहिले उसैले पार्किङ शुल्क उठाइरहेको छ । नयाँ ठेक्काको रकममा सिद्धगढीले शुल्क उठाइरहेको विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा रहेको पार्किङ एरियामा सवारीसाधनबाट चर्को शुल्क उठाइएको भन्दै चौतर्फी विरोध भएको थियो । हाल विमानस्थल एरियामा दुई पांग्रे सवारीसाधनको घण्टाकै ४० रुपैयाँ सम्म असुल्ने गरिएको छ ।
प्रतिक्रिया