२०८२ चैत २२ गते
काठमाडौं । नेपालमा आउने आधिकारिक विकास सहायतामा (ओडिए) बढोत्तरी भएको छ । साढे १५ प्रतिशतले बढेको विकास सहायता पछिल्लो दस वर्षयताकै औषतमा उच्च हो ।
आर्थिक वर्ष २०२४/२५ मा ओडीएको निकासा १.६० अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को १.३९ अर्ब डलरको तुलनामा १५.५ प्रतिशतले बढी हो । यसले विकास सहायतामा सुधारको संकेत गरेको छ । विकास सहायता बढ्नु भनेको विकासमा वित्त परिचालनका लागि सहज हुनु हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०२४/२५ मा १२ विकास साझेदारसँग कुल १.९८ अर्ब अमेरिकी डलर बराबरका ३३ वटा आधिकारिक विकास सहायतामा हस्ताक्षर गरेको छ । यो सहायतामा ऋणको हिस्सा १.५७ अर्ब डलर (७९.१ प्रतिशत) रहेको छ भने बाँकी २०.९ प्रतिशत अनुदान रहेको छ ।
१० विकास साझेदारहरूले उक्त वर्षको कुल निकासाको करिब ९२.३ प्रतिशत हिस्सा ओगटेका छन । बहुपक्षीय, द्विपक्षीय तथा संयुक्त राष्ट्र प्रणालीलाई समेट्दा, सबैभन्दा बढी निकासा गर्ने शीर्ष १० साझेदारहरूमा क्रमशः विश्व बैंक (५४१ मिलियन डलर), एशियाली विकास बैंक (४४३.२ मिलियन), भारत (१०७.८ मिलियन), युनाइटेड किङ्डम (८४.२ मिलियन), युएसएआइडी (६७.१ मिलियन), संयुक्त राष्ट्र प्रणाली (६४.५ मिलियन), जापान (५८.३ मिलियन), अन्तर्राष्ट्रिय मुद्रा कोष (४१.८ मिलियन), युरोपेली संघ (३७।७ मिलियन) र स्विट्जरल्यान्ड (३०.१ मिलियन) रहेका छन ।
सहायताहरु बजेटभित्र (अन बजेट) र कोष (ट्रेजरी ) मार्फत हुने निकासा बढेको छ भने बजेटबाहिरको (अफ बजेट) सहयोग घटेको छ, जसले राष्ट्रिय प्रणालीसँग राम्रो समन्वय भएको देखाउँछ । आर्थिक वर्ष २०२४÷२५ मा बजेट भित्रैबाट निकासा १.३६ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.५ प्रतिशतले बढी हो । कोषमार्फतको निकासा ८४७.५ मिलियन डलर पुगेको छ, जुन ६३.३ प्रतिशतले वृद्धि हो । यसै अवधिमा बजेटरी प्रणालीभन्दा बाहिरबाट हुने निकासा २४२ मिलियन डलरमा झरेको छ, जुन २०२३/२४ को तुलनामा १५.१ प्रतिशतले कमी हो ।
ओडीएले आर्थिक वर्ष २०२४/२५ मा कुल राष्ट्रिय बजेटको १४.५ प्रतिशत हिस्सा ओगटेको छ, जुन पछिल्लो दशककै सबैभन्दा न्यून हो । कुल ओडीए विनियोजन २ अर्ब डलर रहेको छ भने राष्ट्रिय बजेट १३.७ अर्ब डलर रहेको छ । अघिल्लो वर्षको १५ प्रतिशतबाट यो हिस्सा केही घटेको छ ।
यातायात क्षेत्रले सबैभन्दा बढी विकास सहायता पाएको छ । यस क्षेत्रले आर्थिक वर्ष २०२४/२५ मा सबैभन्दा बढी निकासा पाउँदै २५२.८ मिलियन डलर (१५.७ प्रतिशत) प्राप्त गरेको छ । सबैभन्दा बढी विकास सहायता पाउनेमा यातायात सहित ५ क्षेत्र छन् । यातायातपछि आर्थिक मामिला (२०४.५ मिलियन, १२.७ प्रतिशत), कृषि, वन, मत्स्य तथा सिकार (१८८.५ मिलियन, ११.७ प्रतिशत), शिक्षा (१८४मिलियन, ११.५ प्रतिशत), तथा सार्वजनिक व्यवस्था र सुरक्षा (१७०.३ मिलियन, १०.६ प्रतिशत) रहेका छन ।
अन्र्तराष्ट्रिय दातृ निकायको विकास सहयोगमा बन्ने परियोजनाको संख्या भने घटेको छ । २२ कार्यान्वयन निकायहरूले २२ विकास साझेदारहरूको सहयोगमा कुल ३०१ ओडीए परियोजनाहरू कार्यान्वयन गरेका छन । औसतमा प्रत्येक विकास साझेदारले करिब १३ परियोजना व्यवस्थापन गरेका छन् भने प्रत्येक सरकारी निकायले करिब ८ साझेदारसँग समन्वय गरेका छन् ।
प्रतिक्रिया