२०८० फागुन १६ गते
राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । एघार दशमलव ६० किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो ।
एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु. दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्ने गरी काम गरिएको बताए ।
निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तार भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।
उहाँका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको रु. ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।
रासस
प्रतिक्रिया