मन्त्रिपरिषद् विस्तार, रास्वपालाई चार महत्वपूर्ण मन्त्रालय

२०८० फागुन २३ गते

मन्त्रिपरिषद् विस्तार, रास्वपालाई चार महत्वपूर्ण मन्त्रालय

काठमाडौं । नव गठित गठबन्धन सरकारको मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले सोमबार तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्  ।

नेकपा (माओवादी केन्द्रबाट) उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री भएका तामाङको शपथ भइसकेको छ ।

Advertisement:

Ad
Ad

सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाएका पुरानै अनुहार रहेका छन् ।

नेकपा एमालेको तर्फबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्ने नेता दामोदर भण्डारीले जानकारी दिए ।

महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो नलागेको उनले जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताइन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।