२०८३ वैशाख १० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले घरजग्गा, नगद मौज्दात, सुनचाँदी र सेयर लगानी सहितको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (४) को प्रयोजनका लागि सम्पत्ति विवरण पेश गरेका हुन् ।
डेपुटी गभर्नर पण्डितले काठमाडौंको टोखामा श्रीमती कामना शर्मा पण्डितको नाममा २ करोड २० लाख रुपैयाँमा खरिद गरिएको १६३० वर्गफिटको घर रहेको विवरण खुलाएका छन् । घर निर्माण गर्ने सीडी डेभलपर्सलाई १ करोड ७४ लाख ५० हजार रुपैयाँ भुक्तानी, अन्य लागत २० लाख ४५ हजार रुपैयाँ र २५ लाख ५ हजार रुपैयाँ बैंक कर्जाको ब्याज समेत रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
आम्दानीको स्रोतका रूपमा राष्ट्र बैंकको तलब, कलेजमा अध्यापन, पत्नीको आर्जन, जग्गा बिक्रीबाट भएको आय र सिटिजन्स बैंकबाट लिएको कर्जा रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणअनुसार पण्डित परिवारसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ मूल्यमा खरिद गरिएको हीराको औँठी र टप रहेको छ । यी धातुहरू दाइजो, उपहार र निजी आर्जनबाट प्राप्त भएको जनाइएको छ ।
पण्डितको नाममा बैंक, जलविद्युत र बीमा कम्पनीमा गरी ५ हजार ७ सय कित्ताभन्दा बढी सेयर रहेको छ । बैंक तथा वित्तीय संस्थाको २ हजार ९४८ कित्ता, जलविद्युत कम्पनीको ३६०६ कित्ता र बीमा कम्पनीको ३६ कित्ता सेयर रहेको छ । श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको ५११ कित्ता र बीमाको १२ कित्ता सेयर छ । छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको २२० कित्ता सेयर र बीमा कम्पनीको १२ कित्ता सेयर रहेको विवरणमा भनिएको छ ।
पण्डितको नाममा एउटा मोटरसाइकल छ भने श्रीमतीको नाममा दुईवटा मोटरसाइकल र २४ लाख रुपैयाँमा खरिद गरिएको महिन्द्राको विद्युतीय गाडी छ ।
पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाखमा खरिद गरिएको जग्गा छ । ३३८.६३ वर्गमिटरमा रहेको उक्त जग्गा आफ्नो र पत्नीको आर्जनबाट खरिद गरेको उल्लेख गरेका छन् ।
श्रीमती कामना शर्मा पण्डितको नाममा ५ लाख ७६ हजार नेपाली रुपैयाँका साथै ३३ हजार ५७९ अमेरिकी डलर समेत बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो रकम पारिश्रमिक, बचत र पेन्सन कोषबाट प्राप्त भएको उल्लेख गरिएको छ । छोरा अभ्युदय पण्डितको बैंक खातामा ५ लाख ७६ हजार ६२३ रुपैयाँ र छोरी आयिका पण्डितको बैंक खातामा ४ लाख ४६ हजार ४०८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया