२०८३ जेठ ०२ गते
काठमाडौं । आइएमई खल्ती लिमिटेडले कन्टेन्ट क्रिएटरहरुका लागि इन्फ्लुएन्स अवार्ड घोषणा गरेको छ । डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) का लागि यो देशकै पहिलो अवार्ड हो । यो अवार्डले नेपालको क्रिएटरलाई संस्थागत गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
यसमा दुई सयभन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर र नयाँ प्रतिभाहरुको प्रवर्द्धनका लागि मञ्च प्रदान गरिनेछ । यो अवार्ड खल्तीको तर्फबाट नेपालको उदयमान क्रिएटर इकोनोमीलाई संस्थागत रूप दिने प्रयास हो भने यसले सिर्जनशीलता, मौलिकता र डिजिटल उत्कृष्टतालाई एक गम्भीर राष्ट्रिय कलाका रूपमा मान्यता दिनेछ । यसको फाइनल साउन १६, २०८३ मा हुनेछ ।
स्थापित क्रिएटरहरूको सम्मान, उदयमान प्रतिभाहरूका लागि मञ्च, समाजका लागि महत्वपूर्ण सन्देश दिनु यो अवार्डको विशेषता हो ।
अवार्डमा कसरी सहभागी हुने ?
वैशाख १ देखि असार १ सम्म इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत आफ्नो आवेदन निःशुल्क दर्ता गर्न सक्नेछन् । मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस र स्वास्थ्य, फेसन र सौन्दर्य शिक्षा र वित्त तथा खेलकुद लगायतका विविध श्रेणीका कन्टेन्ट क्रियटरहरू सहभागि हुन सक्नेछन् । असार १ देखि असार १० सम्म विशेष जुरी टोलीले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी असार १० गते शीर्ष १०० क्रिएटरहरुको घोषणा गर्नेछ ।
असार ११ देखि साउन १६ सम्म छनोट भएका क्रिएटरहरूले आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न मौलिक सामग्री तयार गर्नेछन् । यस चरणमा खल्ती एपमार्फत सार्वजनिक भोटिङ खुला हुनेछ जसमा क्रिएटरको योग्यता, जुरी मूल्याड्कन र दर्शक सहभागिता तीनै पक्षलाई न्यायोचित रूपमा भार दिइने सुनिश्चित गरिनेछ ।
साउन १६ मा काठमाडौँमा आयोजना हुने भव्य समापन समारोह सबै श्रेणीका विजेताहरूको घोषणा र सम्मान गरिनेछ । मिडिया, कला र डिजिटल संस्कृति लगायत विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित विशेष जुरी टोलीले अवार्डको मूल्याङ्कन गर्नेछ ।
विजेता र छनोटमा परेका क्रिएटरहरूले दीर्घकालीन विकासका लागि डिजाइन गरिएका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् जसमा राष्ट्रिय पहिचान, मेन्टरशिप, नेपालका अग्रणी ब्रान्डहरूसँग विशेष ब्रान्ड साझेदारीका अवसरहरू र खल्तीको इकोसिस्टममार्फत निरन्तर प्रवर्द्धन समावेश छन् । यो पहलको लक्ष्य
एकपटकको पुरस्कार होइन क्रिएटरहरूले आफ्नो कलालाई व्यावसायिक रूप दिन सक्ने दिगो मार्गहरू निर्माण गर्नु पनि हो । आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले इन्फ्लुएन्स अब केवल पहुँचको कुरा होइन यो एक जिम्मेवारी हो ।
नेपालभरि एउटा स्मार्टफोन र एउटा कथा बोकेका युवा क्रिएटरहरूले हाम्रो समाजले कसरी सोच्ने, सिक्ने र जोडिने भन्ने कुरालाई आकार दिइरहेका बताए ।
प्रतिक्रिया