कर छलीमा तिनवटै निकायले संयूक्त अनुगमन गर्ने, दोषि ठहरिए कडा कारबाही हुने

२०८१ मंसिर २३ गते

कर छलीमा तिनवटै निकायले संयूक्त अनुगमन गर्ने, दोषि ठहरिए कडा कारबाही हुने

काठमाडौ । राजस्व चुहावट तथा कर छलीसम्बन्धी विषयमा तिन वटा सरकारी निकायले संयुक्तरुपमा अनुगमन गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभागमा बसेको भन्सार बिभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागका प्रमुखको बैठकले संयूक्त अनुगमन गर्ने निर्णय गरेको हो ।

बैंठकले सूचना संकलन तथा आदानप्रदान, बजार अनुगमन तथा गस्ती परिचालन, नक्कली तथा झुटो कारोबारलाई नियन्त्रणको काम संयूक्त रुपमा गर्न सहमत गरेको हो । राजस्व चुहावटका जोखिमका क्षेत्रहरु, वस्तुहरू, नाकाहरु र समूहहरु पहिचान गर्ने, सूचना संकलन गर्ने, बिश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदान प्रदान गर्ने कार्य तीनै निकायको प्रतिनीधिको उपस्थितामा गरिने भएको छ । यस्तै राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भंसार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तर आवद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भंसार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गरिने बताइएको छ । साथै तीनै निकायका प्रमुखहरुले राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणहरुसँग आह्वान गर्ने निर्णय पनि गरेका छन् । त्यसैगरी कर छली गर्ने करदातालाई कारवाहीको दायरामा ल्याउने, संकास्पद कारोबार र अनधिकृत गोदामलाई बिशेष निगरानीमा राख्ने, कर छली गर्ने मनसायले ब्यक्तिगत खाताबाट ब्यबसायिक कारोबार गर्ने प्रवृतिलाई रोक्न अन्तर निकाय सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै शंकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारवाहीको दायरामा ल्याउने, राजस्व चुहावटका नयाँ प्रबृत्तिहरु पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्नेजस्ता विषयमा सहमति भएको छ ।यस्तै नक्कली तथा झुटो कारोबार नियन्त्रण गर्नेतर्फ सामान्य तथा आर्थिकरुपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोवार गर्ने र कर छली गरी आफू कानूनको नजरमा उम्किने प्रवृतिलाई विशेष अनुसन्धान र छानवीन गरी कारवाहीको दायरामा ल्याउने, फर्म तथा कम्पनीको फेक दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यवसायिक योजना आदिलाई विशेष निगरानी गर्ने, बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक श्रोतबिना विल (विजक मात्र खरिद ) बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीन वटै विभागले समन्वय गरी कानुन वमोजिम कडा कारवाही गर्ने सहमति भएको छ ।

खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सुक्ष्म रुपमा अनुगमन गर्ने, मूल्य अभिवृद्धि करतर्फ ननफाइलर तथा बक्यौता कायम रहेका करदाताहरुको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउनेजस्ता विषयमा  सहमति भएको छ ।