२०८२ असोज २२ गते
काठमाडौं । जेनजी प्रदर्शनमा भएको भौतिक तथा मानवीय क्षतिको सत्यतथ्य छानविनका लागि गठित जाँनबुझ आयोगले नै आन्दोलनमा अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने बताएको छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी प्रर्दशनका क्रममा काठमाडौ लगायत देशभरका विभिन्न भागमा भौतिक एवम् मानवीय क्षति भएको थियो । उक्त क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भएको थियो ।
आयोगले असोज ९ गतेदेखि अध्ययन थालेको छ । यसैविच गृहमन्त्री ओमप्रकाश अर्यालले जाँचबुझ आयोगले सत्यतथ्य छानविन गरीरहेकोले प्रतिवेदन पेश नभई कारवाही गर्न नमिल्ने भन्दै केही दिन अघि विज्ञप्ति जारी गरेका थिए ।
आयोगका तर्फबाट सदस्य विज्ञानराज शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ । यस आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको छ ।'

प्रतिक्रिया