२०८० चैत २० गते
काठमाडौँ । माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरीले माओवादी लडाकु पूर्व कमाण्डर खामलाई व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोपमा नियन्त्रणमा लिएकाे हाे । उनलाई काठमाडाैंकाे ठमेलबाट पक्राउ गरिएको हो । उनलाई चितवन पठाउने तयारी भएको छ ।
खाम काेटेश्वर निवासी श्रेष्ठकाे हत्याकाे अभियाेगमा १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए । माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य खामलाई साे हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।
वि.सं २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकु कमान्डर रहेका खामले रामहरि श्रेष्ठको घरको दोस्रो तला भाडामा लिएका थिए ।
माओवादीले खामको डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो । खामलगायतका लडाकु कमान्डर काठमाडौँ रहँदा त्यहीँ बस्थे । १४ चैत ०६४ राती सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भयो भनियो । हल्लाखल्ला मच्चिएपछि पैसा र हतियार त भेटिए तर छानबिनको नाममा घरबेटी श्रेष्ठले भने अनाहकमा ज्यान गुमाउनुपर्यो ।
चोरीको सो घटना अनुसन्धानका लागि भन्दै गोविन्दबहादुर बटाला ‘जीवित’ ले श्रेष्ठलाई १५ वैशाख राती २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्याए । सोधपुछका क्रममा गरिएको कुटपिटबाट उनको ज्यान गयो ।
चोरीमा केशव अधिकारी ‘रघु’ र गंगाराम थापा ‘एटम’ पनि संलग्न भएको श्रेष्ठले पोल खोलेको दिन तीनै जनालाई २८ वैशाखमा एउटै कोठामा राखिएको थियो । पोल खोलिदिएको झोकमा रघु र एटमको कुटपिटबाट श्रेष्ठको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौँ लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको थियो । रघु र एटमले तन्नामा बेरी त्यसमा ढुंगा हालेर झोलुंगे पुलबाट नारायणी नदीमा श्रेष्ठलाई फालिदिएका थिए । एटम डिभिजन कमान्डर खामकै अंगरक्षक थिए ।
उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दासमेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ । उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन्।
प्रतिक्रिया