घरजग्गा कारोबारको वर्तमान अवस्था समेटेर राष्ट्र बैंकले शुरु गर्यो तथ्यांक प्रकाशन, प्रत्येक त्रैमासमा सार्वजनिक हुने

२०८२ चैत ३० गते

घरजग्गा कारोबारको वर्तमान अवस्था समेटेर राष्ट्र बैंकले शुरु गर्यो तथ्यांक प्रकाशन, प्रत्येक त्रैमासमा सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको वर्तमान अवस्थालाई समेटेर तथ्यांक सार्वजनिक गर्न शुरु गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारकोप्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र यस बैंकले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गरिने केन्द्रिय बैंकले भनेको छ ।

Advertisement:

Ad
Ad

रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा गरिएको छ । रियल–स्टेट कारोबारको सङ्ख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको छ ।

रयल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ । साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा  विभाजन गरी सोहीअनुरूप कारोबारको सङ्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरिएको छ । त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रयमासमा न्यून र तेस्रो तथा चौथो त्रयमासमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ ।

रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्याङ्कबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ । उपर्युक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत यस बैंकले गरिरहेको छ ।