२०८२ मंसिर १० गते
काठमाडौँ । एमसिए–नेपालले न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको थालनी गरेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा उक्त निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँच विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको बताए ।
“थप भरपर्दाे ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ”, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सनले भने , “प्रसारण लाइन तथा सबस्टेशन जस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूमा बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ । आजको यो कार्यक्रम सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो ।”
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्क बहादुर विष्टले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको छ उल्लेख गरेका छन् । उनी भन्छन, “यस प्रसारण लाइन तथा सबस्टेशनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउन नयाँ अवसरहरू सिर्जना गर्नेछन् । नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीसँगको निकटतम साझेदारीमा यस आयोजनाको कार्यान्वयन गर्न पाएकोमा एमसिए–नेपाल गौरवान्वित छ र यसलाई सफल बनाउनमा प्रतिबद्ध छ ।”
१८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा नेपाललाई सघाउ पु¥याउनेछ ।
यस १८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेशनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले यिनीहरू नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण छन् । नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै यस आयोजनाले घरपरिवार एवं व्यवसायहरूका लागि विद्युत् आपूर्ति थप भरपर्दाे बनाउनेछ भने विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउनेछ ।
यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्नेछ भने नयाँ निजी लगानी आकर्षित हुनेछ र नेपालका विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजस्व आर्जन गर्न सहयोग पुग्नेछ ।
प्रतिक्रिया