एक वाक्यांशले असारमा रोकियो रकमान्तर, अर्थमन्त्रालयमा फाइलका चाङ

२०८१ असार ०३ गते

एक वाक्यांशले असारमा रोकियो रकमान्तर, अर्थमन्त्रालयमा फाइलका चाङ

काठमाडौ । चालू आर्थिक वर्ष २०८०/८१को बजेटमै ‘असार महिनामा रकमान्तर नगर्ने’ भन्ने वाक्यांश राखिएका कारण अहिले बजेट रकमान्तरको काम रोकिएको छ । अर्थमन्त्री प्रकाशशरण महतको पालामा गत वर्ष अन्जानबश उक्त वाक्यांश राखिँदा अहिले रकमान्तर गरेर खर्च सदर हुन नपाएको बजेट महाशाखाका प्रमुख रितेश शाक्यले जानकारी दिए ।

उनले भने-"अब हामी बैठक बसेर उक्त नियम परिवर्तन गरेर रकमान्तर प्रक्रिया अघि बढाउँछौं ।" आफ्नो टेबुल माथि थुप्रिएको फाइलका चाङ देखाउँदै शाक्यले भने -"यो नियमले त उस्तै परे कर्मचारीले तलब खान नपाउने अवस्था आउँछ, यो वाक्यांश हटाउने तयारी भएको छ , बाधा अड्काउ फुक्का बनाउँछौँ ।"

Advertisement:

Ad
Ad

मुलुकमा प्रायः जसो बजेट समयमै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर बढी हुने गरेको छ ।वर्षभर हुने रकमान्तरमध्ये असारमा हुने रकमान्तर अधिक छ । एउटा शीर्षकको बजेट अर्को शीर्षकमा सार्ने परिपाटी छ । तर, चालूको बजेट भने पुँजीगतमा रकमान्तर गर्न पाइँदैन । अर्थ विविधबाट थप निकासा दिनु पनि एक प्रकारको रकमान्तर हो । साना रकमान्तर चाहिँ आन्तरिक मिलान वा कार्यक्रम संशोधनमार्फत हुन्छ । ती काम सम्बन्धित मन्त्रालयले आफैं गर्छन् ।

चालू आर्थिक वर्षको वैशाख महिनामामात्रै ५ अर्ब २४ करोड ३ लाख ४२ हजार रूपैयाँ रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ । यस्तै चैतमा २ अर्ब ७८ करोड ३१ लाख ४९ हजार रूपैयाँ रकमान्तर भएको छ ।