एभरेष्ट बैंकले गर्यो क्रसबोर्डर डिजिटल भुक्तानीको शुरुवात

२०८० चैत ०१ गते

एभरेष्ट बैंकले गर्यो क्रसबोर्डर डिजिटल भुक्तानीको शुरुवात

काठमाडौँ । एभरेष्ट बैंकले क्रसबोर्डर डिजिटल भुक्तानीको शुरुवात गरेको छ । बैंकले बिहीवार एक सूचना जारी गर्दै क्रसबोर्डर डिजिटल भुक्तानी सेवामा हस्ताक्षर गरेको जनाएको हो । बैंकले यो प्रणालीमा आवद्ध हुन पाउँदा हर्षित भएको उल्लेख गरेको छ ।

एउटा देशको बैंकमा रहेको खातामार्फत् अनलाइन माध्यमबाट अर्को देशको बैंकमा रहेको खातामा हुनसक्ने अनलाइन भुक्तानीलाई क्रसबोर्डर डिजिटल भुक्तानी भनिन्छ । यो सुविधा प्राप्त भएपछि एउटा देशको नागरिक अर्को देशमा जाँदा नगद बोकेर जानुपर्ने बाध्यता हुँदैन ।

Advertisement:

Ad
Ad

हालसम्म यो प्रणालीमा वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जोडिएका छन् । त्यस्तै, भुक्तानी सेवा प्रदायक कम्पनीहरु ईसेवा र खल्तीसमेत यो भुक्तानी प्रणालीमा आवद्ध भएका छन् ।

नेपाल र भारतबीच विगत लामो समयदेखि खुला सीमाना छ । खुला सीमानाकै कारण दैनिक हजारौँ भारतीयहरु नेपाल आउने गरेका छन् । त्यसैगरी दैनिक हजारौँ संख्यामा नेपालीहरुसमेत भारत जाने गरेका छन् ।

यसरी एक देशका नागरिक अर्को देशमा गएर वस्तु तथा सेवाको खरिद गर्दा यसअघि नगदमै भुक्तानी गर्नुपथ्र्यो । यसैले यसरी घुम्न आउँदा नगद सटही गरेर आउनुपर्ने बाध्यता थियो । नेपालमा ५०० र २००० दरका नोट नचल्ने भएकोले बढीमा १०० रुपैयाँ दरका नोट नेपाल बोकेर आउन झन्झट हुने गरेको थियो ।

अहिले नेपालमा बढीमा २५ हजारभन्दा बढीको भारतीय नोट बोकेर हिँड्न पाइँदैन । १०० वा सोभन्दा कम दरका नोट त्यो लिमिटमा बोकेर हिँड्न अप्ठेरो हुने भएकोले नेपाल आउने भारतीय पर्यटकले चाहेर पनि धेरै खर्च गर्न नसक्ने अवस्था थियो । यो भुक्तानी सेवासँगै अब दुवै समस्या समाधान हुनेछ ।