साइबर ठगी नियन्त्रणमा राष्ट्र बैंक सक्रिय, बैंक तथा वित्तीय संस्थासँग माग्यो सम्पर्क अधिकारी

२०८३ कात्तिक १९ गते

साइबर ठगी नियन्त्रणमा राष्ट्र बैंक सक्रिय, बैंक तथा वित्तीय संस्थासँग माग्यो सम्पर्क अधिकारी

काठमाडौं । साइबर ठगी तथा अनलाइन वित्तीय अपराध नियन्त्रणका लागि स्थापना हुन लागेको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ को कार्य सञ्चालनलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँग सम्पर्क अधिकारीको विवरण माग गरेको छ।

 

Advertisement:

Ad

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बुधबार सूचना जारी गर्दै सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, वाणिज्य बैंक तथा भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई सम्पर्क अधिकारी तोक्न आग्रह गरेको हो।

 

नेपाल सरकार, गृह मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना तथा कार्य सञ्चालनसम्बन्धी निर्देशिका, २०८३ जारी भएको छ। उक्त निर्देशिकाको व्यवस्था कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोबाट यस केन्द्रमा भौतिक रूपमा सँगै रहेर समन्वय, सहकार्य तथा सहजीकरण गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरूबाट सम्पर्क अधिकारी माग गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, ई–सेवा लिमिटेड र खल्ती लिमिटेडबाहेकका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकले एक जना सम्पर्क अधिकारी तोकी उनको नामथर र फोन नम्बर उपलब्ध गराउनुपर्नेछ।

 

सम्पर्क अधिकारीको विवरण र कार्यालयको इमेल ठेगाना २०८३ कात्तिक १९ गते बेलुका ३ बजेसम्म राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको इमेलमा पठाउन सूचनामार्फत आग्रह गरिएको छ। राष्ट्र बैंकले साइबर ठगी नियन्त्रण, सूचना आदानप्रदान तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्न उक्त व्यवस्था गरिएको जनाएको छ।