२०८२ मंसिर ०८ गते
काठमाडौ । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८२/०८३ को तीन महिनामा १५ अर्ब बढी कर्मचारी खर्च गरेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २० वटा बाणिज्य बैंकहरुले १५ अर्ब २३ करोड ७१ लाख रुपैयाँ कर्मचारी खर्च (स्टाफ एक्सपेन्सेस) गरेका छन् । यस खर्च अन्र्तगत तलब भत्ता, तालिम, सञ्चय कोष र उपदानमा जाने रकम समेत समेटिएको हुन्छ ।
बाणिज्य बैंकहरुको कर्मचारी खर्च बढ्दो देखिएपनि नाफा भने घट्दो देखिएको छ । १३ अर्ब नाफा कमाउँने बैंकहरुले कर्मचारी खर्च मात्र १५ अर्ब बढी गरेको देखिन्छ । यो कर्मचारीलाई दिने बोनस बाहेकको रकम होे ।
गत आवको २०८१/०८२ को पहिलो तीन महिनामा बैंकहरुले यस्तो खर्च १४ अर्ब ४७ करोड २० लाख रुपैयाँ गरेका थिए । यस आधारमा गत वर्षको यसै अवधिको तुलनामा चालु आवको पहिलो त्रैमासमा ७६ करोड ५१ लाख रुपैयाँ बढी कर्मचारी खर्च भएको देखिन्छ ।
आकर्षक सेवा सुविधाकै कारण बैंकिङ क्षेत्र रोजगारीका लागि आकर्षक मानिन्छ । बैंकमा विभिन्न सेवा सुविधा देखि तलब भत्तासम्म आकर्षक हुने गरेको छ । सरकारी जागिरपछिको मुख्य आकर्षक क्षेत्रको रुपमा बैंक–वित्तीय संस्थालाई हेरिन्छ । यसकारण पनि यो क्षेत्रको कर्मचारी खर्च बढी हुन्छ ।
सबैभन्दा बढी कर्मचारी खर्च सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकले १ अर्ब ३८ करोड २३ लाख रुपैयाँ कर्मचारी खर्च गरेको तथ्यांक राष्ट्र बैंकलाई बुझाएको छ । यस्तै दोस्रो बढी खर्च गर्नेमा पब्लिक कम्पनीको रुपमा रहेको नबिल बैंक रहेको छ । यसको १ अर्ब २० करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।
तेस्रोमा भने ग्लोबल आइएमइ बैंकको १ अर्ब ४ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । अर्को सरकारी बैंक नेपाल बैंकले पनि १ अर्ब १ करोड ७२ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ ।
लक्ष्मी सनराइजले ९८ करोड ८१ लख रुपैयाँ खर्च गर्दा कुमारी बैंकले ९० करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै कृषि विकास बैंकको ८९ करोड ४३ लाख रुपैयाँ, हिमालयन बैंकको ८३ लाख ३५ करोड रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७६ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै नेपाल एसबिआई बैंक ४१ करोड ३१ लाख रुपैयाँ, एभरेष्ट बैंक ४८ करोड ६५ लाख, एनआइसी एशिया ७३ करोड ८८ लाख रुपैयाँ, माछापुछ्रे बैंक ६३ करोड ६७ लाख रुपैयाँ, सिद्धार्थ बैंक ७२ करोड ७३ लाख रुपैयाँ, सिटिजन्स बैंक ५१ करोड ७९ लाख, प्राइम कमर्सियल बैंक ४७ करोड ६० लाख, एनएमबी बैंक ६७ करोड १६ लाख रुपैयाँ र प्रभु बैंक ८९ करोड ४३ लाख रुपैयाँ कर्मचारी खर्च भएको छ । यस्तै सानिमा बैंकले ४० करोड ४१ लख रुपैयाँ कर्मचारी खर्च गरेको विवरण केन्द्रिय बैंकलाई पेश गरेको हो ।
बोनसका लागि २ अर्ब चार करोड छुट्याइयो
बाणिज्य बैंकहरुले तलब भत्ताका अलवा कर्मचारीलाई बोनस दिनका लागि २ अर्ब ४ करोड १४ लाख रुपैयाँ प्रोभिजन गरेका छन् । यो रकम गत आवको पहिलो त्रैमासमा गरिएको प्रोभिजनको तुलनामा कम हो ।
गत आवमा बैंकहरुले २ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ बोनसका लागि प्रोभिजन गरेका थिए । गत आवको यसै अवधिको तुलनामा यो वर्ष ४२ करोड ७९ लाख रुपैयाँले कम हो । बैंकहरुको नाफा घट्दा उनीहरुले आफ्ना कर्मचारीका लागि छुट्याउँने बोनस पनि खुम्चिएको हो ।
२० वटा बाणिज्य बैंकहरुले चालु आवको तीन महिनामा १३ अर्ब ३७ करोड नाफा गरेका छन् जवकी गत आवको यसै अवधिमा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा गरेका थिए । उसो त पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय अपराध न्यूनीकरण, साइबर सुरक्षा तथा नविनतम बैंकिङ सेवाका लागि प्रविधिमा खर्च गर्न पनि निर्देशन दिँदै आएको छ । यसले बैंकहरुको सञ्चालन खर्च समेत बढाउँदै लगेको छ ।
चालु आवको तीन महिनामा बैंकहरुको सञ्चालन खर्च ८ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ छ ।
प्रतिक्रिया