चिलिमे हाइड्रोपावरको आम्दानीमा सामान्य गिरावट

२०८१ साउन २१ गते

चिलिमे हाइड्रोपावरको आम्दानीमा सामान्य गिरावट

काठमाडौँ।  चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ भने खुद नाफा थोरै बढेको छ।

Advertisement:

Ad
Ad

गत आर्थिक वर्षको असार समान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी झिनो घटेपनि कम्पनीको खुद नाफा भने झिनो बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.५८ प्रतिशत बढेर ६५ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६४ करोड ९२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४.४२ प्रतिश बढेको छ भने वित्त आम्दानी ३४.८२ प्रतिशत र अन्य आम्दानी ८.७२ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७७ पैसा घटेर ८ रुपैयाँ १८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.४३ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्ग १३.६० प्रतिशत घटेर २ अर्ब ८० करोडमा झरेको छ।