चालु आर्थिक वर्ष २.७ प्रतिशत आर्थिक बृद्धि हुने एडिबिको प्रक्षेपण

२०८२ चैत २७ गते

चालु आर्थिक वर्ष २.७ प्रतिशत आर्थिक बृद्धि हुने एडिबिको प्रक्षेपण

काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

एसियन डेभलपमेन्ट आउटलुक २०२६’ अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने देखिएको छ । जुन गत वर्ष २०२५ को तुलनामा ४.६ प्रतिशतभन्दा न्यून हो ।

Advertisement:

Ad
Ad

यद्यपि  सन् २०२७ मा ५ प्रतिशतको बलियो पुनरागमन हुने आशा पनि आउटलुकले गरेको छ ।  नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्ष उतारचढावपूर्ण रहने अनुमान एडीबीको छ ।  

 

छिमेकी मुलुकहरू भुटान र भारत ६।९ प्रतिशतको उच्च वृद्धिदरका साथ अगाडि बढिरहँदा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने देखिएको हो ।

 

यस्तै मुद्रास्फीति २०२६ मा ३.७ प्रतिशत रहने र २०२७ मा अझ बढेर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।  यसको मुख्य कारण घरेलु आर्थिक गतिविधिहरू बढ्दै जाने अपेक्षा हो । 

 

मध्य पूर्वको द्वन्द्वले नेपालको चालु खाता विस्तारमा असर पार्ने अनुमान छ । २०२५ मा जिडिपिको ६.७ प्रतिशत रहेको चालु खाता अधिशेष २०२६ मा बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जसलाई वैदेशिक रोजगारीबाट आउने रेमिटेन्स र निर्यातको मध्यम वृद्धिले समर्थन गर्नेछ।

 

तर, वैदेशिक रोजगारीमा अस्थायी कमी, उच्च तेल मूल्यका कारण बढ्दो आयात खर्च, र  पर्यटन सिजनमा सम्भावित आम्दानी घट्ने अवस्थाले यसलाई आंशिक रूपमा सन्तुलन गर्नेछ। त्यसपछि २०२७ मा चालु खाता अधिशेष घटेर ५.३ मा झर्ने अपेक्षा गरिएको छ।